लम्पी स्किनबाट सुदूरपश्चिममा मात्रै २६ हजार पशुचौपाया मरे, ६ लाख संक्रमित


५ श्रावण २०८०, शुक्रबार
Lampi skin khop tanahu scaled
फाइल फोटो

सुदूरपश्चिम । ‘लम्पी स्किन’ रोगको संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार ९९१ पशुचौपाया मरेका छन् । प्रदेशका ९ वटै जिल्लामा ६ लाख ३४ हजार ७९९ पशुचौपायामा लम्पी स्किनको संक्रमण पुष्टि भएको छ ।

तीन वर्षदेखि छिटपुटरूपमा देखापर्दै आएको लम्पी स्किन हाल सुदूरपश्चिममका सबै जिल्लामा फैलिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा. हेमराज अवस्थीका अनुसार लम्पी स्किनबाट सबैभन्दा बढी बैतडीमा ११ हजार १८ पशुचौपाया मरेका छन् ।

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलले पशु सेवा विभागलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार प्रदेशमा ६३० पशुचौपायालाई सो रोगविरुद्धको खोप लगाएको छ । ‘तीन वर्षदेखि लम्पी स्किनबाट पशुचौपाया संक्रमित हुँदै आएका छन्,’ डा. अवस्थीले भने, ‘यस वर्ष पहाडी जिल्लामा कडा खालको संक्रमण देखियो ।’

‘पोक्स’ भाइरसको संक्रमणबाट हुने लम्पी स्किनबाट सबैभन्दा बढी कैलालीमा २ लाख ३३ हजार ५ सय पशुचौपाया संक्रमित भएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय डोटीका अधिकृत पुष्करराज नाथले जानकारी दिए । कैलालीमा १५ हजार बाच्छाबाच्छी, ८३ हजार तीन सय ९३ गाई, २१ हजार तीन सय ५१ गोरु र एक लाख १३ हजार तीन सय २७ भैँसी यसबाट संक्रमित भएका छन्। कैलालीमा लम्पी स्किनबाट हालसम्म ६५७ पशुचौपाया मरेको तथ्यांक छ ।

यसैगरी लम्पी स्किनबाट बझाङमा चार हजार छ सय २३ पशुचौपाया मरेका छन् । सबैभन्दा कम कञ्चनपुरमा १८ पशुचौपाया सो रोगबाट मरेको तथ्यांक छ । अछाममा एक हजार छ सय ७८, डोटीमा तीन हजार छ सय ७९, बाजुरामा सात सय ५३ र दार्चुलामा एक हजार छ सय ६९ र डडेल्धुरामा दुई हजार तीन सय ९६ पशुचौपाया लम्पी स्किनबाट मरेको तथ्यांक छ ।

भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीमा प्रमुख गुमानीदत्त पन्तले रोगको नियन्त्रणका लागि पहल भइरहेको जानकारी दिए । ‘मन्त्रालय र स्थानीय तहको पहलमा औषधि वितरण गर्ने काम भइरहेको छ । पालिकामार्फत पशुपालक किसानलाई औषधि वितरण गरिँदै छ,’ उनले भने । प्रदेशमा औषधि र खोपको अभाव भएको पन्तले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७