श्रीलंकाको मुद्रास्फीति १०.८ प्रतिशत

कोलम्बो । श्रीलंकाको मुद्रास्फीति जुनमा घटेर १०.८ प्रतिशत कायम भएको छ । श्रीलंकाको राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्क (एनसीपीआई) मा आधारित मुद्रास्फीति मे महिनामा २२.१ प्रतिशत रहेको थियो । जुन महिनामा यसमा थप कमी आई १०.८ प्रतिशतमा झरेको जनगणना तथा तथ्याङ्क विभागले शुक्रबार जनाएको छ ।
विभागका अनुसार खाद्य क्षेत्रको मुद्रास्फीति मे महिनामा १५.८ प्रतिशत रहेकोमा गत महिना घटेर २.५ प्रतिशतमा झरेको छ । गैर–खाद्य समूहको मुद्रास्फीति जुनमा २७.६ प्रतिशतबाट घटेर १८.३ प्रतिशतमा झरेको छ ।
गत वर्ष एनसीपीआईले ७३.७ प्रतिशतको मुद्रास्फीति रेकर्ड गरेको श्रीलंकाको मुद्रास्फीति सेप्टेम्बर २०२२ देखि निरन्तर घटिरहेको छ । श्रीलंकाको केन्द्रीय बैंकले सन् २०२३ सम्म पनि मुद्रास्फीतिमा गिरावट आउने अनुमान गरेको छ र सेप्टेम्बरसम्ममा विद्यमान उच्च मुद्रास्फीतिलाई एकल अङ्कमा झार्ने बताएको छ । रासस / सिन्ह्वा