कसरी भइरहेको छ सुन तस्करी, कसको कब्जामा छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ?

भन्सारको प्रज्ञापनपत्रको रेकर्डले भन्छ : २८ पटकमा १८ सय किलो आयात


७ श्रावण २०८०, आईतवार
Tribhuvan International airport scaled

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालका निजी सचिव नवराज ढुंगानाले १२ असार २०८० मा राजस्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी पाए । ढुंगाना महानिर्देशक भएको २२ दिनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएकोे झण्डै एक क्वीन्टल सुन राजस्व अनुसन्धान विभागले बरामद गर्यो । विभागको यो ‘अपरेशन’पछि महानिर्देशक ढुंगानाले सञ्चार माध्यमसँग भनेका छन्, ‘सुन तस्करी भइरहेको हामीलाई पूर्वसूचना थियो ।’

महानिर्देशक ढुंगानाले प्रधानमन्त्री कार्यालयमा आफू रहेको बेला नै सुन तस्करीको सूचना पाएको बताएका छन् । अब यहाँनिर प्रश्न उठ्छ, ‘सहसचिव तहको एकजना कर्मचारीले पाइरहेको सूचना के गृहमन्त्री, अर्थमन्त्री वा राज्यका निकायहरुले थाहा पाएका थिएनन् त ?’ उत्तर सहज छ, ‘सूचना थाहा नपाउने कुरै भएन ।’

Nabaraj Dungana
राजस्व अनुसन्धान विभागको महानिर्देशक नवराज ढुंगाना

३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर सिनामंगल पुगेको सुन जुन कम्पनीले नेपाल ल्याएका थिए । पछिल्लो तीन महिनामा १८ सय किलो सुन नेपाल भित्रिएको तथ्य देखिएको छ ।

अनुसन्धान अधिकारीहरुका अनुसार हङकङबाट क्याथे फ्यासिफिकमार्फत् सुन ल्याउने रेडी ट्रेड लिंक प्रालि तीन महिनाअघि मात्रै दर्ता भएको कम्पनी हो । दोलखाको मेलुङ गाउँपालिका घर भएका २१ वर्षीय दिलीप भुजेल । उक्त कम्पनीका मालिक हुन् । जो रोजगारीको खोजीमा करिब १० महिना अगाडि मात्रै काठमाडौँ आएका थिए । उनी पहिला निर्माणक्षेत्रमा काम गर्ने ज्यामी र हाल चाउमिन उद्योगका मजदुर हुन् ।

कम्पनीको अधिकृत पूँजी २५ लाख रुपैयाँ राखिएको उनै भुजेलको कम्पनीले दुई महिनायता २८ पटक सुन आयात गरेको रेकर्ड छ । भन्सारको अभिलेखमा रहेको प्रज्ञापनपत्र अनुसार उक्त कम्पनीले २८ पटकमा १८ सय किलो सुन आयात गरेको छ ।

यसबाट स्पष्ट हुन्छ, तीन महिनाअघि एउटा मजदुरलाई प्रयोग गरेर दर्ता गरिएको कम्पनीको उद्देश्य सुन तस्करी थियो । उक्त कम्पनीले २८ पटकमा ल्याएको १८ सय किलो सामान सुन नै भएको उच्च अधिकारीले बताएका छन् ।

यता काठमाडौं उपत्यकाभित्रबाट गएको ५७ महिनामा भन्सार कार्यालय र प्रहरीले १५९.२६ किलो सुन बरामद गरेको छ । जसमध्ये ८५ प्रतिशत सुन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको छ । यहाँनिर प्रश्न उठ्छ, ‘२८ पटकसम्म सुन तस्करी भएको सूचना प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीले कसरी पाएनन् ?’ यो प्रश्नको उत्तर खोज्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अपरेशन प्रणालीलाई नजिकबाट बुझ्नुपर्छ ।

कस्तो हुन्छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘अपरेशन प्रणाली’ ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालको सबैभन्दा संवदेनशील र सामरिक महत्व जोडिएको अन्तर्राष्ट्रिय विमानस्थल हो । जहाँ तीनवटा शक्तिशाली मन्त्रालयका विभाग तथा निकायहरु क्रियाशील छन् । विमानस्थलमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मातहतका निकायहरु छन् ।

सबै सूचना पुग्छ गृह मन्त्रालयमा

narayan kaji shrestha
गृहमन्त्री नारायणकाजी श्रेष्ठ


अन्तर्राष्ट्रिय विमानस्थलमा सबैभन्दा बढी जनशक्ति गृह मन्त्रालय अन्तर्गतको हुन्छ । गृह मन्त्रालय अन्तर्गत अध्यागमन विभाग, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी बलका अलग अलग संयन्त्र र निकाय क्रियाशील छन् ।

नेपाल प्रहरीका सुरक्षा हेर्ने बाहेक चार वटा व्यूरोका अलग अलग युनिट क्रियाशील छन् । लागु औषध नियन्त्रण व्यूरो, मानव बेचबिखन अनुसन्धान व्यूरो, केन्द्रीय अनुसन्धान व्यूरो र विशेष व्यूरो गरी नेपाल प्रहरीका चार व्यूरोहरुका युनिट विमानस्थलमा राखिएको छ । राष्ट्रिय अनुसन्धान विभागको सह अनुसन्धान निर्देशकको कमाण्डमा टोली नै क्रियाशील छ ।

सशस्त्र प्रहरी बलको मुख्य काम बाहिरी घेरामा भए पनि विमानस्थलको भित्री घेरामा इन्टेलिजेन्स ब्युरो पनि क्रियाशील छ । सशस्त्रको यो व्यूरोले भित्री सूचनाहरु संकलन गर्छ । अध्यागमन विभागले अध्यागमन सम्बन्धी सम्पूर्ण काम हेर्छ । पूर्व गृहमन्त्री र सचिवहरुका अनुसार गृह मन्त्रीसँग अन्तर्राष्ट्रिय विमानस्थलको सबै खालको सूचना पुग्छ । एक पूर्व गृहसचिव भन्छन् ‘सुरक्षा र सूचनामा नेपाल प्रहरी र सशस्त्र प्रहरी उत्कृष्ट संगठन हो । त्यहाँका हरेक सूचनाहरु गृहमन्त्रीसम्म पुग्छन् ।’

अहिले विमानस्थल सुरक्षा प्रमुख डीआईजी अर्जुन चन्द ठकुरी छन् । उनी गृहमन्त्री नारायणकाजी श्रेष्ठको विश्वासपात्र भएको गृहका एक उच्च अधिकारीले बताए । राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक भूमि पाठकको कमाण्डमा टोली क्रियाशील छ । उनी कुनैबेला नेपाली कांग्रेसका नेता तत्कालीन गृहमन्त्री गोविन्दराज जोशीका स्वकीय सचिव थिए । उनी जो गृहमन्त्री आए पनि उसैको नजिक बन्ने क्षमता भएका कर्मचारी रुपमा चिनिने विभाग स्रोतले बतायो । उनी अहिले गृहमन्त्री श्रेष्ठका निकट कर्मचारी हुन् । उनको अहिले ललितपुर जिल्लाको प्रमुखमा सरुवा भए पनि गृहमन्त्रीको आशीर्वाद पाएर विमानस्थलमा नै कार्यरत रहेको विभागका एक उच्च अधिकारीले बताए ।

सुन तस्करी गरिरहेको कम्पनीले २८ पटकमा १८ सय किलो सामान ल्याउँदा गृहमन्त्री श्रेष्ठसम्म सूचना नपुगेको कल्पना पनि गर्न नसकिने नेपाल प्रहरीका एक अवकाश प्राप्त आईजीपीको भनाइ छ । उनी भन्छन्, ‘२८ पटकमा १८ सय किलो सामान ल्याउँदा गृहमा सूचना नपुगेको त कल्पनासम्म गर्न सकिन्न ।’

विमानस्थलमा कुन सामान आयो, त्यो सामानको प्रज्ञापनपत्रदेखि जाँचपास गर्ने भन्सारको भूमिका मुख्य भए पनि सूचनाको हिसाबले अध्यागमनका अधिकारीहरु पनि उत्तिकै शत्तिशाली हुन्छन् । एक अधिकारी भन्छन्, ‘अध्यागमनका उच्च अधिकारीलाई ‘बाइपास’ गरेर यस्ता ठूला सामान पास हुन सक्दैनन् ।’

अहिले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव अधिकृत रामबन्धु सुवेदी छन् । सुवेदी प्रधानमन्त्री दाहालकी पुत्री तथा भरतपुर महानगरपालिका मेयर रेनु दाहालका विश्वास पात्र हुन् । अर्थात् सुवेदी प्रचण्ड प्रधानमन्त्री भएपछि बालुवाटारको प्रतिनिधिका रुपमा त्यहाँ खटिएका हुन् ।

अध्यागमन कार्यालयका अर्का शक्तिशाली कर्मचारी हुन्, बरिष्ठ अध्यागमन अधिकृत झंकनाथ ढकाल । जो प्रधानमन्त्री दाहाल निकट हुन् । दाहाल अघिल्लो पटक प्रधानमन्त्री भएको बेला निजी सचिव रहेका ढकाल सदावाहार शत्तिशाली र प्रधानमन्त्रीका विश्वासपात्र हुन् ।

‘अपरेशन’ को केन्द्रीय भूमिकामा अर्थ मन्त्रालय

prakashsharan mahat1685518561


सामान पासमा प्रमुख भूमिका भन्सार कार्यालयको हुन्छ । अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागको महानिर्देशक शोभाकान्त पौडेल छन्, जो अर्थमन्त्री डा.प्रकाशशरण महतनिकट पात्र हुन् । तर त्रिभुवन विमानस्थलमा भने त्रिभुवन विमानस्थल भन्सार कार्यालयको भूमिका मुख्य हुन्छ । अर्थात् महानिर्देशक पौडेलको भूमिका उति धेरै हुँदैन ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको सबै प्राधिकार प्राप्त अधिकारी हुन्, अरुण पोखरेल । जो नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मानिकट हुन् । शर्मा अर्थमन्त्री भएको बेला बीरगंज भन्सारको प्रमुख बनाई त्यसपछि विमानस्थल पठाइएका पात्र हुन् उनी । त्यसो त उनी प्रधानमन्त्री पुष्पकमल दाहालका पनि उत्तिकै प्रियपात्र हुन् । उनै पोखरेल प्रमुख रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर सिनामंगल पुगेको एक क्वीन्टल सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

भन्सार विभागका अधिकारीहरुका अनुसार त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट पार हुने हरेक सामानाको सूचना उनीसँग हुन्छ । भन्सार विभागका एक पूर्व अधिकारी भन्छन्, ‘सुन आए पनि नुन आए पनि भन्सार प्रमुखको सूचनाबिना पार हुन्न । एक क्वीन्टल सुन पनि उहाँको ‘नोटिस’ विना पार भएको कुरा विश्वास गर्न सकिंदैन ।’

नागरिक उडड्यन मन्त्रालयको पनि महत्वपूर्ण भूमिका

Sudan Kirati

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अर्को महत्वपूर्ण भूमिका रहेको मन्त्रालय हो, संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्रालय । यो नेकपा (माओवादी केन्द्र)ले सम्हालिरहेको मन्त्रालय हो । मन्त्री छन्, सुदन किराँती । विमानस्थलका महाप्रबन्धक मन्त्री किराँतीले रोजेर पठाएका प्रतापबाबु तिवारी छन् । पर्यटन मन्त्रालय स्रोतका अनुसार तिवारीलाई महाप्रबन्धक बनाउनमा केन्द्रीय भूमिका नेता जनार्दन शर्माको छ ।

नागरिक उड्डयन मन्त्रालय अन्तर्गत ग्राउन्ड ह्यान्डलिङ, अस्थायी पास, यात्रु लगेज, पूर्वाधार व्यवस्था, कर्मचारी फोटो पास र उडान सम्बन्धी काम हुन्छ । एक उच्च अधिकारीका अनुसार यस्ता तस्करीमा विमानस्थल प्रशासनको पनि भूमिका महत्वपूर्ण रहन्छ । तस्करीमा संग्लनहरुलाई अस्थायी पास दिएर भित्रसम्म लैजाने काममा विमानस्थल प्रशासनको भूमिका रहन्छ ।

रक्षा मन्त्रालय
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा अन्तर्गतको एउटा युनिट पनि क्रियाशील छ । नेपाली सेनाको गुप्तचर निकाय डिएमआई (डिरोट्रेक्ट अफ मिलिटरी इन्टेलिजेन्स)को शत्तिशाली युनिट विमानस्थलमा कार्यरत छ । तर सामान जाँचपास लगायतको काममा डिएमआइको ध्यान र भूमिका हुन्न । यो युनिटले सुरक्षासँग सम्बन्धित बिषयको सूचना मात्रै लिने गरेको छ ।

‘सेटिङ’ विना भन्सार पार असम्भव
गृह तथा अर्थ मन्त्रालयका पूर्व सचिवहरुका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अर्थ मन्त्रालय, गृह मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मातहतका निकायहरुका उच्च अधिकारीहरुको संग्लनता र सेटिङविना यस प्रकारको सुन तस्करी असम्भव हुन्छ ।

सुन कसको ?

Deepak Malhotra
दीपक मलहोत्रा


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद करिब एक क्वीन्टल सुन प्रकरणबारे विस्तृत अध्ययन गर्न राजस्व अनुसन्धान विभागले छुट्टै समिति गठन गरेको छ । यो प्रकरणमा संग्लन भएको आरोपमा १० जना पक्राउ परेका छन् ।

विभागले सुन बोक्ने ट्याक्सी चालक अशोक लामासहित भन्सार एजेन्ट राजेन्द्र राई, कम्पनीका सञ्चालक भोजपुरका दिलीप भुजेल, उनका मामा दोलखाका रामकुमार भुजेल, भोजपुरका हर्कराज राई र तिब्बती मूलका भारतीय नागरिक थाप्तेन छिरिङ पक्राउ गरेको छ ।

यसैगरी चिनियाँ नागरिक जीक्वाङ, सुन ल्याउने कार्गोका तीन जना सञ्चालक ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक कृष्णकुमार श्रेष्ठ, पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठलाई पक्राउ गरेको छ ।

तर यी पक्राउ परेकामध्ये सुनका मालिक कोही पनि नभएको उच्च अधिकारीहरुको दाबी छ । एक अधिकारी भन्छन्, ‘यी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समन्वय गरिदिने मात्रै हुन्, सुनका मालिक उनीहरु होइनन् ।’

यसअघि ३८ क्विन्टल सुन तस्करी प्रकरणमा ४५ भन्दा धेरै अभियुक्त पक्राउ परे । नेपाली सुरक्षा र राजनीतिलाई असाध्यै गहिरो गरी तरंगित बनाएको यो प्रकरणपछि सुन तस्करी रोकिएन, बरु झनै बढेको सुरक्षा अधिकारीहरुको दाबी छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार पछिल्लो समयमा पटक– पटक सिमाक्षेत्रबाट सुन बरामद भएको छ । ती सबै सुन नेपालबाट तस्करी भएर भारत पुगेको भारतीय सञ्चार माध्यमहरुले दाबी गर्दै आएका छन् । यसपटक रेडी ट्रेड लिंक प्रालिको नाममा पनि २२ पटक सुन ल्याएको निश्चित जस्तै देखिएको छ ।

भारतको सुन विक्रेता संघका अनुसार दैनिक सात सय किलो सुन अवैध रुपमा भारत भित्रिने गरेको छ । त्यो सबैभन्दा बढी नेपाल र बंगलादेशबाट भित्रिएको सुन हो । भारतीय सुरक्षा अधिकारीका अनुसार तस्करहरुले सुनलाई धूलो बनाएर खाने तेलमा मिसाउने, चिस्याइएका भाँडोहरुमा लुकाउने र डोरीको सहायताले घिर्नीमा झुन्ड्याएर राति–राति सीमानदीबाट तार्ने गरेका छन् ।

भारतीय सुरक्षा अधिकारीले सुन तस्करीमा अन्डरवल्र्ड समूहको हात रहेको समेत दाबी गर्छन् । त्यो दाबीमा सत्यता रहेको भन्दै एक नेपाली सुरक्षा अधिकारी भन्छन्, ‘कुनै देशको नेपालस्थित दूताबासको सूचना र दबाबका कारण यसपाली सुन बरामद गर्न बाध्य भएको हो भन्ने पनि सुनिन्छ ।’

एक अर्बभन्दा बढी मूल्य पर्ने तस्करीको यो सुन व्यवसायी दीपक मलहोत्राको रहेको समाचारहरु पनि प्रकाशित भएका छन् । तर व्यवसायी मलहोत्राले यसलाई अस्वीकार गरेका छन् । मलहोत्राको संग्लता बारेमा गहिराईमा पुग्न भारतीय अधिकारीहरुको दाबी र व्यवसायी मलहोत्राको व्यापार यात्रालाई गहिरो गरी बुझ्न आवश्यक रहेको अधिकारीहरुको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७