कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण सक्न प्राधिकरणको ताकेता


७ श्रावण २०८०, आईतवार
kulman

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको निर्माण तत्काल सकाउन आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई ताकेता गरेको छ ।

गएको असारमै आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, रुख कटान अनुमति प्रक्रियामा भएको ढिलाइ, स्थानीयको अवरोध र निर्माण व्यवसायी भारतीय कम्पनी एल एन्ड टीको कमजोर कार्यसम्पादनका कारण आयोजनाको काम प्रभावित भएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार निर्माणस्थलको अनुगमन गरी आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग काममा देखिएका समस्या र समाधानका विषयमा छलफल गरे । छलफलबाट प्रसारणलाइनको निर्माण यही साउनभित्रमा सम्पन्न गर्ने नयाँ तालिका तय गरिएको छ ।

छलफलमा कार्यकारी निर्देशक घिसिङले जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि कालीगण्डकी करिडोर प्रसारणलाइन अत्यन्तै महत्वपूर्ण र संवेदशील रहेको बताए । जुनसुकै अवस्थामा पनि साउनभित्र काम सम्पन्न गर्न उनले निर्देशन दिए ।

यो प्रसारणलाइन बनाइएपछि म्याग्दी, पर्वत, कास्की र लमजुङमा निर्मित जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाह गर्न सजिलो हुने उल्लेख गरे । निर्माणपछि यो प्रसारण लाइनबाट करिब एक हजार २०० मेगावाट विद्युत् प्रवाह गर्न सकिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७