देउखुरीका दर्जन बढी घर डुबानमा


९ श्रावण २०८०, मंगलवार
Dang Deukhuri Duban 4 1024x460 1

दाङ । दाङ देउखुरीका दर्जन बढी घर डुबानमा परेका छन् । सोमबारदेखि लगातार परेको बर्सातले गर्दा देउखुरीको विभिन्न स्थानमा घर डुबानमा परेका हुन् भने केही घर भत्किएका छन् ।

दाङ राजपुर गाउँपालिका–५ स्थित भुर्किहवाका १०-१२ वटा घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए । राप्ती नदीमा पानीको सतह बढेर ती घर डुबानमा परेका थिए । त्यस्तै लमही नगरपालिका–१ सुनडवरी र ३ को कान्तिपुरमा पनि केही घर डुबानमा परेका छन् । डुबानमा परेका घरबाट सरसामान र मानिसको उद्धार गरिएको छ ।

Dang Deukhuri Duban 5

लमही–१ सुनडबरी निवासी ७० वर्षीय निमबहादुर सार्कीको फुसले छाएको घरमा पानी पसेको र घरभित्र रहेका दुई जनालाई उद्धार गरिएको छ । त्यस्तै लमही–३ कान्तिपुरका रामबहादुर कुमालको घरमा पानी पसेपछि छतमा रहेकाको उद्धार गरिएको छ भने सोही ठाउँका सुशील कुमाल र दयाराम चौधरी घर डुबानमा परेका छन् । कुमाल र चौधरीको घरबाट डुबानअघि नै मानिसलाई स्थानन्तरण गरिएको थियो ।

राजपुर गाउँपालिका–२ निवासी ३० वर्षीया पुष्पा नेपालीको घर भत्किएको छ । उनलाई नजिकै ग्वाते कुमालको घरमा सारिएको छ । निरन्तरको वर्षाका कारण कालाकाटे–गोबरहिडा सडक अवरुद्ध भएको छ । हुलाकी सडकअन्तर्गतको उक्त सडक बिहानदेखि अवरुद्ध भएको हो ।

त्यस्तै बेला–लमही सडकखण्डअन्तर्गत चन्दनपुर खोलामा आएको बाढीले आवतजावतमा समस्या भएको छ । तुलसीपुर उपमहानगरपालिका–१४ जनकपुरमा स्थानीय खोलाले बा ११ च ९५११ नम्बरको स्कारपिओ बगाएको छ । घोराहीतर्फ जाँदै गरेको उक्त स्कारपिओ आज बिहान बगाएको प्रहरीले जनाएको छ । सवारी चालको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७