बाढी–पहिरो प्रभावितलाई राहत वितरण


१६ श्रावण २०८०, मंगलवार
pahiro taplejung EM2OBJXTMZ
फाइल फोटो

ताप्लेजुङ । नेपाली कांग्रेस ताप्लेजुङले गत असार पहिलो साता गएको बाढी पहिरोबाट प्रभावित घरपरिवारलाई राहत वितरण गरिरहेको छ । यही आइतबारदेखि प्रभावित क्षेत्रमै पुगेर राहत सामग्री वितरण सुरु गरेको हो । गत जेठ ३२ देखि असारको पहिलो सातासम्म अबिरल वर्षासँगै गएको बाढी पहिरोबाट प्रभावित सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका घरपरिवारलाई राहत वितरण जारी रहेकोे छ ।

सिदिङ्वा गाउँपालिकाको मेहेले र सुरुम्खिमका ९६ घर परिवारलाई राहत वितरण भइसकेको तरुण दलका ताप्लेजुङका कार्यवाहक सभापति पृथ्वी पालुंवाले जानकारी दिए । उनका अनुसार प्रभावित परिवारलाई नुन, तेल, चामलसहितका खाद्यान्नका सामग्री वितरण गरिएको छ । यस्तै आज सिदिङ्वाकै बाँकी परिवारलाई राहत वितरण गरिने जनाइएको छ ।

यसअघि मैवाखोला गाउँपालिकाका पहिरो प्रभावितलाई सो पार्टीले राहत वितरण गरेको थियो । कांग्रेसले जनप्रतिनिधि, शुभेच्छुक संस्थालगायतबाट राहतका लागि सहयोग रकम सङ्कलन गरेको थियो । यस्तै कोशी प्रदेशका प्रदेशसभा सदस्य खगेनसिं हाङ्गामले समेत राहत वितरणका लागि सहयोग गरेका छन् । बाढीपहिरोबाट प्रभावित परिवारको विवरण लिएर राहत वितरण गरिएको कांग्रेस जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङले बताए । यस जिल्लामा बाढीपहिरोबाट चार सय बढी परिवार प्रभावित बनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७