‘सस्पेन्स थ्रिलर’ कथामा आधारित ‘अदृश्य’ प्रदर्शन हुँदै


१६ श्रावण २०८०, मंगलवार
adrishya

काठमाडौं । आउँदो शुक्रबार अर्थात् साउन १९ गतेदेखि ‘सस्पेन्स थ्रिलर’ कथामा आधारित चलचित्र ‘अदृश्य’ प्रदर्शनमा आउने भएको छ । चलचित्र ‘अदृश्य’ निर्माण समूहद्वारा आज आयोजित पत्रकार भेटघाटमा निर्देशक प्रहाल्द काफ्ले, अभिनेता प्रमोद अग्रहरी, रवी गिरी, रिस्ता बस्नेत, प्रविन खतिवडा र प्रिन्स प्रसिड सिंहले चलचित्रको विषयमा जानकारी गराए ।

अभिनेता अग्रहरीले चलचित्रको छायाङ्कन कोरोना महामारीकै समयमा गरिएको जानकारी दिए । उनले भने, ‘हामी कहाँ सस्पेन्स र थ्रिलर कथामा कमै चलचित्र बन्ने गरेका छन् । एकै किसिमको भन्दा फरक प्रस्तुतीकरण दर्शकले पाउनु हुनेछ । मैले पनि चलचित्रको विधाअनुसार आफ्नो स्वरूप तयार गरेको छु ।’

यसै चलचित्रमार्फत निर्देशन यात्राको प्रारम्भ गरेका निर्देशक काफ्लेले सामाजिक विषयवस्तुमा थ्रिलर प्रस्तुती दिएको बताए । ‘हामीले राम्रो चलचित्र बनाउन सक्दो कोशिस गरेका छौँ । हामीले छायाङ्कनको समयमा ‘ए’ नाम राखेका थियौँ, पछि ‘अदृश्य’ बनाएका हौँ’, उनले भने । 

चलचित्रमा छुल्ठिम गुरुङ, सिएम भारद्वाज सुवेदी, विकेश प्रजापती, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेललगायतले समेत अभिनय गरेका छन् ।

यसमा राकेश रनपालले कथा लेखन, आकाश उखेडाले पटकथा तथा संवाद लेखन, उत्तम हुमागाईं र मोहनकुमार झिल्लुले छायाङ्कन, विशाल पौडेलले सङ्गीत सिर्जना, शिशिर खातीले नृत्य निर्देशन, मुकेश शाहले पाश्र्व सङ्गीत सिर्जना, निशान घिमिरेले रङ्ग संयोजन गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७