सिंहदरबारमा अखडा जमाइरहेका कर्मचारीलाई अन्यत्र पठाइन्छ : मन्त्री मोदी


१९ श्रावण २०८०, शुक्रबार
modi 1 scaled

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐनको मस्यौदा गरी सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको जानकारी दिएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले कानुन मन्त्रालयबाट सहमति प्राप्त भएपछि यथाशीघ्र मन्त्रिपरिषद्मा लैजाने बताए । मन्त्री मोदीले भने, ‘तीन सयभन्दा बढी स्थानमा लामो समयसम्म निमित्तको जिम्मेवारीमा रहेका स्थानीय तहमा कर्मचारी व्यवस्थापनको काम भइरहेको छ, अनुमानयोग्य कर्मचारी सरुवा मापदण्ड बनाउने कार्यलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ ।’

मधेस प्रदेशका स्थानीय तहमा निमित्तबाट चलाउने कार्य शून्यमा झारिएको जानकारी दिँदै उनले सिंहदरबारलाई लामो समयदेखि अखडा बनाएर बसेका केही कर्मचारीको सरुवा र जिम्मेवारी पनि ज्येष्ठता तथा क्षमताका आधारमा अन्यत्र हुने स्पष्ट गरे ।

सरकारले अर्थतन्त्र सुधार, जनजीविकाका मुद्दा तथा विकास र समृद्धिको विषयलाई पनि उच्च महत्व दिएको जनाउँदै मन्त्री मोदीले देशमा पछिल्लो समय भएका विभिन्न घटनाका सम्बन्धमा सरकारले निष्पक्ष छानबिनका लागि निर्देशन दिँदै वातावरण बनाइरहेको जानकारी दिए । यसअघि बैठकमा सदस्यहरुले सङ्घीय निजामती ऐन, सुन प्रकरण लगायतका घटना तथा भ्रष्टाचारसँग जोडिएका विषयका सम्बन्धमा जिज्ञासा माग गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७