मोदी थर प्रकरण : भारतीय सर्वोच्च अदालतद्वारा राहुल गान्धीमाथिको सजायमा रोक, सांसद पद पुनर्बहाली


२० श्रावण २०८०, शनिबार
rahul

नयाँदिल्ली । भारतीय काङ्ग्रेस नेता राहुल गान्धीलाई ‘मोदी उपनाम’ को टिप्पणीलाई लिएर आपराधिक मानहानिको मुद्दामा गुजरात उच्च अदालतले दोषी ठहर्‍याए पनि भारतको सर्वोच्च अदालतले शुक्रबार यसमाथि रोक लगाएको छ ।

यद्यपि, उक्त अदालतले सार्वजनिक पदमा रहेका व्यक्तिबाट दिइने सम्बोधनमा सावधानी अपनाउनु पर्नेमा भने जोड दिएको छ । गुजरात उच्च अदालतले राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो जसले उनलाई जनप्रतिनिधित्व ऐनको कठोरताअन्तर्गत सांसदको रूपमा अयोग्य घोषित गरेको थियो । सवोच्चको फैसलासँगै गान्धीको सांसद पद पनि पुनः बहाली हुुने सम्भावना देखिएको छ ।

केरलाको वायनाडबाट राहुल गान्धीलाई लोकसभा सचिवालयको सूचनापछि मार्च २४ मा सांसद पदका लागि अयोग्य घोषित गरिएको थियो । काङ्ग्रेस नेता राहुल गान्धीले गुजरात उच्च अदालतले गान्धीलाई दोषी ठहर गर्न अस्वीकार गरेको आदेशविरुद्ध दायर गरेको अपिलमाथि सर्वोच्च अदालतले सुनुवाई गरिरहेको थियो । न्यायाधीश बीआर गवईको अध्यक्षतामा रहेको बेन्चल गरेको फैसलामा ‘ट्रायल कोर्ट’ का न्यायाधीशले अधिकतम सजाय सुनाउनुको कुनै कारण नदिएको र अन्तिम फैसला नभएसम्म दोषी ठहर गर्ने आदेशमा रोक लगाउनुपर्ने बताएको छ । फैसलामा सर्वोच्च अदालतले भनेको छ, ‘यो मुद्दा हेरेका न्यायाधीशले पर्याप्त कारण र आधारबिना दुई वर्षको अधिकतम सजाय दिएको देखिन्छ ।’

सर्वोच्च अदालतले गान्धीलाई राहत प्रदान गर्दै ट्रायल कोर्टको आदेशको असर व्यापक रहेको बताएको छ । सर्वोच्चको फैसलामा भनिएको छ, ‘गान्धीको सार्वजनिक जीवनमा रहिरहन पाउने अधिकार मात्र होइन, उहाँलाई निर्वाचित गर्ने मतदाताको अधिकारमा पनि असर परेको छ ।’ बेन्चले गान्धीका अभिव्यक्तिहरू ‘राम्रो शैलीको नभएको’ र ‘सार्वजनिक जीवन रहेका व्यक्तिहरूले सार्वजनिक भाषण गर्दा सावधानी अपनाउने अपेक्षा गरिएको’ कुरामा कुनै शङ्का नरहेको पनि बताएको छ । सर्वोच्च अदालतको फैसलापछि काङ्ग्रेस पार्टीको ट्विटर पेजमा राहुल गान्धीको तस्बिरको साथमा लेखिएको छ, ‘सत्यको सँधै जीत हुन्छ ।’

पार्टी नेता जयराम रमेशले पनि सर्वोच्च अदलतको फैसला सत्य र न्यायलाई पुष्टि गरेको ट्वीटर सन्देशमा बताएका छन् । उनले भने, ‘गान्धीविरूद्ध सत्ताधारी दलको सबै संयन्त्र लागे पनि उनले हार मान्न, झुक्न वा दब्न इन्कार गर्दै न्याय प्रक्रियाप्रति आफ्नो विश्वास जनाइरहनु भयो र उहाँको विजय भएको छ ।’ गौतम बुद्धको एक भनाइ उद्धरण गर्दै प्रियंका गान्धीले ट्विटरमा लेखेका छन्, ‘सूर्य, चन्द्रमा र सत्य तीन चीजलाई कहिल्यै छिपाउन सकिन्न’ सर्वोच्च न्यायालयलाई न्यायपूर्ण फैसला दिएकोमा धन्यवाद । सत्यमेव जयते ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७