नगरपालिकाबाटै श्रम स्वीकृति र परामर्श


२१ श्रावण २०८०, आईतवार
ratnanagar

चितवन । चितवनको रत्ननगर नगरपालिकाले श्रम स्वीकृति दिन सुरुआत गरेको छ । वैदेशिक रोजगारीमा जाने युवालाई शुक्रबारदेखि पालिकाबाटै औपचारिकरूपमा श्रम स्वीकृति दिने प्रक्रिया सुरु गरिएको हो । जेठ महिनाबाट श्रम स्वीकृति दिन सुरु गरिएको भए पनि औपचारिक गरेर सो सेवा थालिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार नगरपालिकाले रोजगार सेवा केन्द्रबाट उक्त सेवा सुरु गरेको नगर प्रमुख प्रलाद सापकोटाले बताए । उनले पालिकाबाट श्रम स्वीकृतिको सेवा सुरुआतसँगै काठमाडौँ जानुपर्ने बाध्यता हटेको बताए । ‘काठमाडौँबाट लिदै आएको हरेक सेवा स्थानीय सरकारमार्फत दिनुपर्छ’, उनले भने, ‘यसले नागरिकको समय र पैसाको बचत हुन्छ ।’

नगर प्रमुख सापकोटाले यसअघि बाहिर गएर श्रम स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झन्झट हुने गरेको भन्दै स्थानीय सरकारबाटै सेवा सुरु भएपछि सहजै सेवा पाउने बताए । श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउन उनले सुझाव दिए ।

सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सो श्रम स्वीकृतिपत्र प्रदान गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । स्थानीय सरकारबाट श्रम स्वीकृतिपत्र लिएपछि भिसा लागेको मान्छे काठमाडौँका मेनपावर र मन्त्रालयमा धाउनु नपर्ने उनको भनाइ छ । जेठ महिनायता रत्ननगरबाट १५ जनाले श्रम स्वीकृति लिइसकेको रोजगार सेवा केन्द्र संयोजक चन्द्रा बस्यालले जानकारी दिइन् । यो अवधिमा ५० बढी युवालाई वैदेशिक रोजगारसम्बन्धी परामर्श दिएको उनले बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७