झलनाथको दस्तावेज : हाम्रो पार्टी माओवादी र कांग्रेसको पिछलग्गु भयो

‘पार्टीमा उत्साह छैन, कार्यकर्ता एमालेमा फर्किन थाले’


२१ श्रावण २०८०, आईतवार
jhalanath khanal 2
फाइल फोटो

काठमाडौँ । सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेबाट विद्रोह गरेर बनेको पार्टी दक्षिणपन्थी बनेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले नेकपा एकीकृत समाजवादी स्वतन्त्र पहिचान बनाउन असफल भएको भन्दै माओवादी केन्द्र र कांग्रेसको पिछलग्गु बनेकोमा आरोप लगाएका छन् ।

शनिबारबाट सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा १६ पेज लामो लिखित ‘वर्तमान परिस्थिति र हामीले ध्यान दिनुपर्ने ज्वलन्त विषयहरू’ दस्ताबेज पेस गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका खनालले भनेका छन्, ‘आखिर हाम्रो पार्टी दक्षिणपन्थी र माओवादी–कांग्रेसको पिछलग्गु जस्तो भएर अघि बढ्यो ।’ उनले नेपाली कांग्रेस र माओवादी दुवैले आफ्नो पार्टीलाई देशैभर धोखा दिएको पनि आरोप लगाएका छन् ।

‘हाम्रो पार्टीलाई मतदाता मात्र बनाए । त्यसले हाम्रो पार्टीको बन्दै गरेको क्रान्तिकारी छवि र साख नराम्ररी गिराइदियो’, खनालले भनेका छन्, ‘कार्यकर्ताहरू देशव्यापी रूपमा निराश भए । त्यसपछि ‘बरु एमालेतिरै जाने’ भन्ने चिन्तनको विकास हुन थाल्यो र पलायन बढ्दै गयो ।’

त्यस्तै सम्मानित नेता खनालले एमसीसी सम्झौतालाई कलङ्कको संज्ञा दिएका छन् । ‘यो एउटा गम्भिर राष्ट्रिय मुद्दा थियो । अमेरिकाको हिन्द प्रशान्त रणनीतिको अङ्ग बन्ने कि नबन्ने भन्ने सवाल थियो । अमेरिकाले हामीलाई ५५ करोड दिने सवाल होइन, हामी सम्मानपूर्ण ढङ्गले दिन्छ भने अमेरिकाबाट ५५ अर्ब डलर पनि लिन तयार नै छौ’, खनालले भनेका छन्, ‘तर जुन शर्त र स्वार्थ उसले त्यो सम्झौतामा अघि सारेको छ, त्यसलाई मानेर हाम्रो पार्टीले समेत नेपाल र नेपालीको स्वाभिमानमा सदाका निम्ति कलङ्क लगाउने काम गर्‍यो ।’

एमसीसी सम्झौता राष्ट्रलाई दूरगामी रूपले प्रभाव पार्ने गल्ती भनेका छन् । ‘अझ कथित, व्याख्यात्मक घोषणा त्यो केहि मानिसहरूको लागि लाज ढाक्ने धोती बाहेक केहि भएन । त्यसलाई अहिले सम्मका घटनाक्रमले साबित गरेको छ’, खनालको गम्भीर आरोप छ ।

‘यति लामो समय सम्म न अमेरिकाले न नेपाली कांग्रेसले न माओवादी पार्टीले न कसैले त्यो व्याख्यात्मक घोषणा बारेमा चर्चा गरेका छन् । सबैले त्यसलाई बिर्सिदै गएका छन् । त्यस सम्झौतामा दर्जनौँ अपमानजनक शर्तहरू छन्’, खनालले एमसीसी सम्झौताप्रति असन्तुष्टि जनाउँदै भनेका छन् ‘कमसेकम कथित व्याख्यात्मक घोषणामा भएका १२ हुँदा मात्र सच्चिए पनि सकारात्मक कुरा नै हुने थियो । तर यति गम्भीर राष्ट्रिय सवालमा कसैले मतलब राखेका देखिँदैन ।’

नेता खनालले पार्टीको प्रमुख प्रतिद्धन्दीबारे पनि प्रश्न गरेका छन् । ‘क्रान्ति र पार्टी निर्माणको हर कालखण्डमा प्रतिद्वन्द्वी निक्यौल गर्ने सवाल अर्को आधारभूत सवाल हो’, खनालले भनेका छन्, ‘हामीले कसका विरुद्ध प्रतिद्वन्दिता गर्ने, त्यसमाथि पनि कुन राजनीतिक शक्ति वा गुट मुख्य प्रतिद्वन्द्व गर्ने र कसलाई आफ्ना वरिपरि गोलबन्द गर्ने यस बारेमा भुल गरियो भने हाम्रो क्रान्तिकारी यात्रा एक पाइला पनि अघि बढ्दैन ।’

खनालले कांग्रेससँगको गठबन्धनले दक्षिणपन्थीहरुलाई लगातार फाइदा पुगेको भन्दै यसबाट उनीहरू वामपन्थीहरूलाई विभाजन गर्न र त्यसको एक हिस्सालाई उपयोग गरेर आफ्नो शक्ति वृद्धि गर्न सफल भइरहेको किटान गरेका छन् । उनले यसरी वामपन्थी समूहहरु दक्षिणपन्थी शक्तिका प्यादा र बैशाखी जस्तो बन्दा आफ्नो साख निरन्तर गिराइरहेकाले यस्तो डरलाग्दो दक्षिणपन्थी गल्तीबाट पार्टीलाई बचाउनु पर्ने बताएका छन् ।

‘हाम्रो अनुभवहरूको समीक्षा गर्नुपर्छ । आफ्ना गल्तीहरूलाई स्वार्थ मुक्त भएर आँटका साथ सच्याउनु पर्छ र पार्टीलाई सही वैचारिक– राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तको जगमा उभ्याउनु पर्छ । प्रधान राजनीतिक अन्तर्विरोध र प्रमुख राजनीतिक प्रतिद्वन्द्वीलाई ठिक ढङ्गले ठम्याउनु पर्छ र क्रान्तिको प्रवाहलाई निशाना केन्द्रित ढङ्गले अघि बढाउनु पर्छ’, खनालको सुझाव छ ।
प्रतिवेदनको पूर्णपाठ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७