सुरुङ निर्माणस्थलमा पहिरो खस्दा बुटवल पाल्पा सडक अवरुद्ध


२३ श्रावण २०८०, मंगलवार
pahiro siddha baba

पाल्पा । सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङ मार्ग क्षेत्रको उत्तरतर्फको प्रवेश बिन्दुमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग आज बिहानैदेखि अवरुद्ध भएको छ । राजमार्गको पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइड (रामापिथेकस पार्क) क्षेत्रमा लेदोसहित ठूलो पहिरो खसेको दोभान प्रहरी चौकीले जनाएको छ ।

प्रहरीका अनुसार सिद्धबाबा सुरुङमार्ग आयोजनाअन्तर्गत चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले सुरुङमार्गको उत्तरतर्फको प्रवेश बिन्दु निर्माण गरेको स्थानमा पहिरो खसेको छ । यहाँ साउनको पहिलो सातादेखि पहिरो खस्ने क्रम जारी छ ।

चाइना स्टेट कन्स्ट्रक्सनले पानी रोकिनासाथ ठूलो मेसिन लगाएर पहिरो खुलाउने प्रयास गरेको छ । ठूला ढुंगा नभएकाले वर्षा रोकिने हो भने छिट्टै राजमार्ग एकतर्फी खुल्ने प्रहरीले जनाएको छ । केही दिनअघि खसेको पहिरोले राजमार्गमा जतिबेला पनि पहिरो खस्न सक्ने गरी धराप बनाएको थियो ।

वर्षाले सुरुङमार्गको उत्तरतर्फको सुरुङ प्रवेश बिन्दु रिब पोर्टलको माथिल्लो भागबाट ठूलो पहिरो खसेको छ । राजमार्ग अवरुद्ध भएपछि तराईबाट पहाड जाने र पहाडबाट तराई झरेका सवारी साधन बाटोमै रोकिएका छन् । यो सडक भएर पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, मुस्ताङ, बागलुङसम्मका सवारी साधन सञ्चालन हुन्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७