अभिनेत्री गुरुङको कविता संग्रह बजारमा

काठमाडौँ । अभिनेत्री कविता गुरुङले कविता संग्रह ‘मेरो कविताको शीर्षक छ’ बजारमा ल्याएकी छन् । चलचित्र ‘बबी’ मा अभिनय गरेकी गुरुङले जीवनका भोगाइ र अनुभव कवितामार्फत् उतारेको बताइन् ।
उनले भनिन्, ‘म कवि, साहित्यकार होइन । आफूले लेखेको कविता सबैलाई सुनाउन, देखाउन मन लागेकाले तयार गरेकी हुँ । यसमा यथार्थ छ ।’ १० कविता संग्रहित पहिलो पुस्तक सार्वजनिक गरेको बताउँदै गुरुङले अगामी दिनमा पनि कविता लेखनलाई निरन्तरता दिने जानकारी दिइन् । उनले गत वर्ष ‘म अनि मेरो’ नामक आत्मकथा ल्याएकी थिइन् ।
आत्मकथामा उनले ‘कलेज लाइफ’, प्रेम, अन्तरजातीय विवाह, माइती पक्षको अवरोध, बुहारी हुँदाको अनुभव र नेपालदेखि नर्वेसम्मको यात्रालाई चित्रण गरेकी थिइन् । उनले कविता संग्रहमा पनि जीवनका त्यही कालखण्डका भोगाइ प्रस्तुत गरेकी छन् ।