सबै मिलेर काम गर्ने हो भने देश बनाउन धेरै समय लाग्दैन : मन्त्री लिम्बू


२७ श्रावण २०८०, शनिबार
dig bahadur
फाइल फोटो

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले देश बनाउन युवा जुट्नुपर्ने बताएका छन् । २४औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज राष्ट्रिय युवा परिषदद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले देश बनाउने संकल्पका साथ युवा अगाडि बढ्नुपर्ने बताए ।

‘सबै मिलेर काम गर्ने हो भने देश बनाउन धेरै समय लाग्दैन’, मन्त्री लिम्बूले भने । देशलाई समृद्ध बनाउन युवा अगाडि बढ्नु पर्ने मन्त्री लिम्बूको भनाइ छ । ‘जुन रुपमा हामी अगाडि बढेका छौँ । युवालाई चित्त बुझेको छैन । युवाले खोजेको कुरा प्राप्त भएको छैन । नीति परिमार्जन गरेर युवालाई अवसर दिन चाहन्छु’, उनले भने । युवालाई उद्यमशील बनाउनका लागि यो वर्षलाई सरकारले युवा उद्यमशिलता वर्ष मनाउन थालेको मन्त्री लिम्बूले जानकारी दिए । युवाले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत क्षेत्रमा अग्रसर भएर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले युवा जनशक्ति देशको विकासका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै युवालाई नेपालमा काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले शिक्षा, स्वास्थ्य र रोजगार युवा केन्द्रीत गर्न सके देशको विकास हुने बताए ।

युवा मन्त्रालयका सचिव रविलाल पन्थले युवालाई सक्षम नबनाएसम्म देश नबन्ने बताए । रोजगारी र गन्तव्यको अनेक विकल्प भए पनि मातृभूमिको विकल्प नभएकाले युवालाई जिम्मेवार बनाउनुपर्ने बताए । परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवा उद्यमशिलता वर्षको रुपमा घोषणा गरेकाले युवालाई स्वदेशभित्र नै स्वरोजागार बनाइने बताए । उनले परिषद् युवाको नेतृत्वका विकास, युवाको सशक्तिकरण र उद्यमशिलताका क्षेत्रमा लगानी गर्न तयार रहेको बताए ।

परिषद्का सदस्य सजिना थापामगरले युवाका लागि बनेका नीति र संरचनालाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने बताइन् । मधेस प्रदेश युवा सञ्जालका अध्यक्ष मोहम्मद रइन रायनले मधेस प्रदेशका युवालाई जागरुक गराउनुको साथै आफ्नै प्रदेशमा रोजगारीका लागि काम गर्ने वातावरण तयार पार्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७