पहिरोले पुरियो विद्यालय, पठनपाठनमा समस्या


३१ श्रावण २०८०, बुधबार
pahiro school parbat

पर्वत । लगातारको वर्षाका कारण पहिरोले पर्वतमा विद्यालय पुरिएपछि पठनपाठनमा समस्या भएको छ । फलेवास नगरपालिका–२ थापाठानास्थित थापाठाना माध्यमिक विद्यालयको दुईवटा भवन पहिरोले पुरिएका हुन् । विद्यालय रहेको स्थानभन्दा करिब ५० मिटरमाथि रहेको सडकबाट खसेको पहिरोले भवन पुरिएका हुन् ।

तीन कोठा पुरिए पनि आठवटा कोठामा जोखिमपूर्ण रुपमा पठनपाठन गराउने गरिएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद शर्माले जानकारी दिए । पहिलो पटक गत असार १६ गते पहिरोले भवनमा क्षति गरेको थियो । सोही स्थानमा यही साउन २२ गतेपछि गएको पहिरोले थप क्षति गरेको छ ।

पहिरोले विद्यालयको आँगन समेत पुरिँदै गएको छ । ‘आठ कोठामा विद्यार्थी राख्न सकिने अवस्था छैन’, उनले भने । जोखिमकैबीच आधारभूत तहदेखि कक्षा आठसम्मको पठनपाठन भइरहेको छ । हाल विद्यालयमा दुई सय ४० विद्यार्थी अध्ययनरत छन् । ‘जुनसुकै बेलामा पनि पहिरोले थप क्षति गर्न सक्ने अवस्था छ’, प्रअ शर्माले भने, ‘दुई–तीन वटा कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउनु परिरहेको छ ।’

नौडाँडा–कार्कीनेटा–फलेवास–जैमुनी सडकको नवनिर्मित सडकको डिल भत्किएर तीनवटा कक्षा कोठामा क्षति भएको शिक्षक सन्तोष रिजालले बताए । विद्यालयका आठ वटा कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई अस्थायी रूपमा एकै ठाउँमा राखेर अध्यापन गरिँदा उनीहरूको सिकाइ उपलब्धिमा असर पर्न थालेको छ । थापाठाना मावि फलेवास नगरपालिकामा नै धेरै विद्यार्थी भएको विद्यालय हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७