ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारोको बैंक खाता अनुसन्धान गरिने


२ भाद्र २०८०, शनिबार
Jair Bolsonaro11630210764

ब्रासिलिया । ब्राजिलको सर्वोच्च अदालतका एक न्यायाधीशले पूर्व राष्ट्रपति जायर बोल्सोनारो र उनकी पत्नी मिचेलले गहना र अन्य सरकारी उपहारहरू हिनामिना गरेको आरोपमा प्रहरीलाई बैङ्क रेकर्डमा पहुँचका लागि अनुमति दिएका छन् ।

बोल्सोनारो र उनका पूर्व सहयोगीहरूले आफ्नो कार्यकालमा साउदी अरेबिया र बहराइनजस्ता देशहरूबाट प्राप्त महँगा वस्तुहरू अवैध रूपमा राख्न र बेच्ने प्रयास गरेको आरोपमा अनुसन्धान भइरहेको छ । सर्वोच्च अदालतका न्यायाधीश अलेक्जेन्ड्रे डी मोरेसले सङ्घीय प्रहरीलाई बोल्सोनारोको ब्राजिलमा रहेको बैङ्क र करसम्बन्धी रेकर्डको अनुसन्धान गर्न र संयुक्त राज्य अमेरिकामा उनीहरूको बैङ्क र कर रेकर्डमा पहुँचका लागि अनुरोध गर्न अधिकार दिएको समाचार संस्था जी–१ लगायत ब्राजिली सञ्चार माध्यमहरूले जनाएका छन् ।

सर्वोच्च अदालत र सङ्घीय प्रहरीसँग एएफपीले उक्त विषयमा तत्काल प्रतिक्रियाका लागि अनुरोध गरे पनि कसैले प्रतिक्रिया दिन तयार भएनन् । बोल्सोनारो (२०१९–२०२२) आफ्नो कार्यकाल समाप्त हुनुभन्दा दुई दिनअघि ब्राजिलबाट संयुक्त राज्य अमेरिका प्रस्थान गरेका थिए । आफ्ना उत्तराधिकारी, अनुभवी वामपन्थी लुइज इनासियो लुला डा. सिल्भाको जनवरी १ को शपथलाई बेवास्ता गर्दै उनी अमेरिका गएका थिए । निर्वाचनमा सिल्भाले गत अक्टोबरमा बोल्सोनारोलाई पराजित गरेका थिए ।

अमेरिकामा बोल्सोनारोका सहयोगीहरूले विदेशी सरकारहरूबाट विभिन्न बहुमूल्य उपहारहरू बेचेको वा बेच्ने प्रयास गरेको आरोप लगाइएको छ । गत साता मोरेसले अनुसन्धानका क्रममा बोल्सोनारोका सहयोगीहरूको घरमा प्रहरीले छापा मार्ने आदेश दिएका थिए ।

बोल्सोनारोले गत अप्रिलमा प्रहरीले सोधपुछको सामना गर्न आदेश दिएपछि आफूले कुनै गल्ती नगरेको भन्दै सबै आरोपको खण्डन गरेका थिए । मार्चमा ब्राजिल फर्केका ‘ट्रपिकल ट्रम्प’ भनिने यी राजनीतिज्ञले थुप्रै कानुनी समस्याको सामना गर्नुपरेको छ । निर्वाचन प्रणालीमा व्यापक धाँधली भएको अप्रमाणित दाबीका कारण निर्वाचन अधिकारीहरूले उनलाई आठ वर्षका लागि राष्ट्रपति पदका लागि चुनाव लड्न प्रतिबन्ध लगाएका छन् । रासस / सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७