स्वदेश फिर्तीको माग गर्दै बङ्गलादेशमा रोहिङ्ग्या शरणार्थीको जुलुस


९ भाद्र २०८०, शनिबार
Rohingya Protest1692967826

काठमाडौं । सुरक्षितरुपमा स्वदेश फिर्तीको माग गर्दै बङ्गलादेशमा शरणार्थी जीवन बिताइरहेका रोहिङ्ग्या शरणार्थीले जुलुस निकालेर विरोध प्रदर्शन गरेका छन् । हजारौं रोहिङ्ग्या शरणार्थीले आफूहरूमाथि भएको अमानवीय हिंसाको छैटौँ वार्षिकीमा आज बङ्गलादेशका विभिन्न शिविरमा विरोध प्रदर्शन गरेका हुन् ।

बङ्गलादेशले राज्यविहीन अल्पसंख्यकका १० लाख रोहिङ्ग्यालाई शरण दिएको छ । सन् २०१७ मा म्यान्मामा भएको सैनिक कारवाहीबाट भागेका शरणार्थीले अन्तरराष्ट्रिय फौजदारी अदालतले नरसंहारका दोषीलाई कारवाही गर्नुपर्ने माग पनि गरेका छन् । उक्त अदालतले म्यान्माले गरेका अपराधको अनुसन्धानको अध्ययन गरिरहेको छ । शरणार्थी बस्तीहरूमा व्यापक अराजकता छाएको छ भने अन्तर्राष्ट्रिय मानवीय सहायता पनि कटौती भएको छ ।

शरणार्थीलाई स्वदेश फर्काउने सहमति नहुँदा उनीहरूमा चरम निराशा छाएको छ । बजेट कटौतीले राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम पर्याप्त खाद्यान्न उपलव्ध गराउन सकेको छैन । प्रति महिना एक जना शरणार्थीलाई रु एक हजार बराबरको खाद्य सहयोग उपलव्ध भएको छ । ‘हामी म्यान्मा फिर्तीको माग गर्छौ, हाम्रो यो माग नयाँ होइन, हामी म्यान्माका नागरिक थियौँ र हौँ । उनीहरू बिस्तारै म्यान्माको इतिहासबाट हाम्रो नाम मेटाउन खोजिरहेका छन्’, रोहिङ्ग्या समुदायका नेता कमल हुसेनले एएफपीलाई भनेका छन् ।

शरणार्थी शिविरको सुरक्षामा खटिएका एक जना सुरक्षा अधिकारीका अनुसार वर्षाका बावजुद करिब दश हजार शरणार्थी विरोध प्रदर्शनमा सहभागी भएका थिए । विश्वको सबैभन्दा ठूलो शरणार्थी समस्या बनेको रोहिङ्ग्या शिविरहरूमा मानवीय अवस्था बिग्रँदै गएको छ ।

बेलाबेलामा शिविरमा हुने झडपमा महिला र बालबालिकासहित दर्जनौं मारिएका छन् । बङ्गलादेश र म्यान्माले रोहिङ्ग्याहरूलाई घर फर्काउने योजनामा काम गरिरहेका बताइए पनि मावनअधिकारवादी समूहले उनीहरूको स्वदेश फिर्ती सुरक्षित नभएको भन्दै चिन्ता व्यक्त गरेका छन् । शरणार्थीसम्बन्धी आयुक्तको कार्यालयले म्यान्माका अधिकारीसँग छलफल जारी रहेको बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७