‘विपद् प्रतिकार्यमा महिलाको नेतृत्व बढाउनु पर्छ’


१० भाद्र २०८०, आईतवार
Tatabandha kandra river kailali 1 scaled
फाइल फोटो

– दुर्गा देवकोटा
कैलाली । विसं २०७८ मा कैलालीमा बेमौसमी वर्षापछि बाढी आयो । बेमौसमी वर्षापछिको बाढीले कैलालीका तटीय क्षेत्रका पालिकामा ठूलो क्षति भयो । बाढीले टीकापुर नगरपालिकाका पनि सयौँ परिवार विस्थापित भए । विस्थापित भएर उच्च घर तथा विद्यालयमा बसेकाहरूले विभिन्न खाले समस्यासँग जुध्नुपर्छ । बाढीका कारण विस्थापित भएकी एक गर्भवतीलाई सेल्टरमा बसिरहेका बेला ब्यथाले चाप्यो । निरन्तरको वर्षाले स्वास्थ्य संस्थासम्म जाने बाटो अवरुद्ध भएकाले ती महिलालाई ‘सेल्टरमै’ सुत्केरी हुनुपर्ने बाध्यता थियो ।

व्यथाले च्यापेकीलाई सुत्केरी सेवा दिएकी टीकापुर–८ की स्थानीय निलु चौधरी त्यो पीडा भुल्न नसकिने बताउँछिन् । ‘बाढीले बाटो अवरुद्ध थियो, उहाँलाई व्यथाले च्याप्यो, आवश्यक सरसामान पनि केही थिएन’, उनी भन्छिन्, ‘मैले स्वास्थ्यकर्मीलाई फोन गरेँ, उहाँले सुझाएअनुसार उहाँलाई सुत्केरी गराएँ । मैले कसरी सेवा दिएँ, अहिले सम्झदा डर लाग्छ ।’

त्यसरी सेल्टरमा जन्मिएको नवजात शिशु अहिले ठूलो भइसकेको छ । ‘त्यो बेला ती सुत्केरी र बच्चालाई जोगाउन नसकेको भए के हुन्थ्यो ?’, उनी भन्छिन्, ‘सेल्टरमा पनि सबैखाले सुविधा चाहिन्छ, हरेक विस्थापित बस्ने ठाउँमा एक जना स्वास्थ्यकर्मी अनिवार्य हुनुपर्छ । महिलाका लागि अनिवार्य सुरक्षित आवास चाहिन्छ ।’

कैलाली हरेक वर्ष बाढीजन्य विपद्को जोखिममा पर्छ । कैलालीमा बाढी, हावाहुरी, आगलागी, शीतलहरजस्ता विपद्ले नागरिकलाई जोखिममा पार्छ । विशेषगरी बाढीजन्य विपद्ले जोखिममा रहेका क्षेत्रका जोखिममा रहेका नागरिकलाई असर पार्छ । विपद्का समयमा महिलाका सवालमा गम्भीर बन्नुपर्ने र विपद्मा उद्धार, राहत तथा प्रतिकार्यमा महिलाको नेतृत्व बढाउनु पर्नेमा छलफल हुन थालेको छ ।

स्थानीय विष्णु रेग्मी सुत्केरीका बालबालिका साना हुने भएकाले बच्चाका आमा र गर्भवती राख्ने आवास सुरक्षित, सुविधासहितको छुट्टै हुनुपर्ने बताउँछन् । ‘बालबालिका साना हुन्छन्, सेल्टरमा बस्दा सबैलाई एकै खालको, एकै समयमा खाना दिइन्छ’, उनी भन्छन्, ‘बच्चा, सुत्केरी, गर्भवतीलाई एकै खालको खानाले हुँदैन, उनीहरूलाई पोषणयुक्त खाना चाहिन्छ ।’ अझ महिलालाई सेनिटर प्याड, साना बच्चालाई डाइपर चाहिन्छ । वर्षा भइरहेको समयमा कपडा नसुक्ने, कपडाको समेत अभाव हुने भएकाले साना बच्चा भएकालाई कपडा पनि पर्याप्त चाहिने कुरामा ध्यान दिनुपर्छ ।

टीकापुर नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख संगीता शाह विगतमा महिलाका लागि सुरक्षित घर नभएकाले समस्या भए पनि गत वर्षबाट विभिन्न सङ्घसंस्थाले सुरक्षित आवास बनाएकाले समस्या नहुने बताउँछिन् । ‘महिलाका लागि सुरक्षित घर बनेका छन्, अब समस्या नहोला’, उनी भन्छिन्, ‘अस्पतालमा पनि विपद् तथा हिंसामा परेकालाई छुट्टै राखेर, निःशुल्क उपचारको व्यवस्था छ ।’

विपद्का समयमा महिला पहिलो प्राथमिकतामा आउनुपर्ने सिनियर अहेव कमल रावल बताउँछन् । ‘विपद्का समयमा महिलामा पनि सुत्केरी, गर्भवती र साना बच्चाका सवालमा गम्भीर बन्नुपर्छ’, उनी भन्छन्, ‘उनीहरूका लागि पहिल्यै योजना बनाएको हुनुपर्छ । उनीहरूलाई तत्काल उद्धार तथा राहतका सुविधा दिनुपर्छ ।’

टीकापुर बाढीजन्य विपद्को मुख्य जोखिममा रहने गर्दछ । बाढी आउँदा मानवीय संकटको जोखिम रहने भएकाले जोखिम न्यूनीकरण गर्न तयार भएका संरचनामा महिलाको नेतृत्व र सहभागिता न्यून रहेकाले महिलाको नेतृत्व बढाउन आवश्यक रहेकामा जोड दिइएको छ । महिलाको प्रजनन भूमिका हुने भएकाले महिला कमजोर हुन्छन् भन्ने भावना त्याग्न र विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यमा महिलालाई भूमिका दिनुपर्ने आवश्यकता रहेको महिला अधिकारकर्मी गीता चौधरी बताउँछिन् ।

‘विपद्मा परेकालाई दिने सुविधामात्र होइन, उद्धार तथा प्रतिकार्य कार्यमा समेत महिलाको सहभागिता बढाउन आवश्यक छ’, उनी भन्छिन्, ‘टीकापुर नगरपालिकाको नगरस्तरीय विपद् व्यवस्थापन समितिमा समेत दुई जना मात्रै महिला छन् । यसले पनि महिला नेतृत्व कमजोर छ भन्ने देखाउँछ ।’

विपद्पछि पनि सेल्टर बनाउँदा, राहत दिँदा समेत महिलाका समस्या र राहतका सामग्रीमा महिलाको अधिकारलाई ख्याल गर्ने गरिएको कम पाइएकाले यसमा सुधार आवश्यक रहेको उनको भनाइ छ । ‘वडास्तरमा महिला तथा युवाको सहभागिता बढेको भए पनि पालिकास्तरको समितिमा महिला न्यून छन् । धेरैभन्दा धेरै महिलालाई प्रतिकार्यमा खट्ने वातावरण बनाउनु पर्छ’, उनी भन्छिन्, ‘महिला कमजोर हुन्छन् भनेर नेतृत्व गर्न दिइएको छैन, महिलालाई पनि उद्धार, राहत तथा प्रतिकार्यका कार्यमा बढी सहभागी गराउने, नीति निर्माण गर्ने तह र विभिन्न समितिमा थप सहभागी गराउन आवश्यक छ ।’

टीकापुर नगरपालिकाले स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याएर विपद् न्यूनीकरणका क्षेत्रमा काम गरिरहेको छ । पालिकाले स्थानीयस्तरमा स्वयंसेवक, हरेक वडामा विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाएको छ । पालिकामा नेपाल रेडक्रस सोसाइटी, दिगो विकास समाज भजनी, सिएसएसडी र ओरेक नेपाल कैलालीले विपद्का क्षेत्रमा काम गरिरहेका छन् । रेडक्रसले तथ्याङ्क व्यवस्थापन, कानुन निर्माण र योजना निर्माणमा सघाइरहेको छ । सिएसएसडीले समुदायस्तरमा विपद् व्यवस्थापन समिति गठन, खोज तथा उद्धारका टोली गठन, समितिलाई सक्षम बनाउन, नियमित बैठक तथा पूर्वाधार निर्माणमा सघाउनेलगायतका काम गरिरहेको छ ।

दिगो विकास समाजले विपद् व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम, विपद् प्रभावितलाई जीविकोपार्जनका लागि तालिम तथा प्रविधि दिने काम गरेको छ । ओरेक नेपालले मानवीय सङ्कट न्यूनीकरण र त्यसमा महिला नेतृत्व बढाउन काम गरिरहेको विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरी बताउँछिन् ।

‘सङ्घसंस्थाले विपद्का क्षेत्रमा सहकार्य गरिदिँदा विपद् पूर्वतयारी तथा प्रतिकार्यमा सहज भएको छ’, उनी भन्छिन्, ‘हामी प्रतिकार्यमा महिला सहभागिता बढाउनुपर्छ भनी लागिरहेका छौँ, यसपटक हामीले वडा–वडामा स्वयंसेवक तयार गरेका छौँ, त्यसमा महिला, पुरुष बराबरी हुनुहुन्छ । उहाँहरूलाई उद्धार तथा प्रतिकार्यमा कसरी खट्ने भनी तालिम दिएका छौँ ।’ उनका अनुसार पालिकाले महिलालाई विस्थापित बस्ने आवास निर्माणबारे पनि तालिम दिएर समुदायमा खटाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७