एमसीसी इन्डोप्यासिफिक रणनीतिको अंग हो, १२ बुँदे घोषणा अमेरिकाले मान्दैन : झलनाथ


१० भाद्र २०८०, आईतवार
Jhalanath khanal scaled
फाइल फोटो

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशको राष्ट्रियता खतरामा परेको दाबी गरेका छन् । आज (आइतबार) काठमाडौंमा आयोजित कार्यक्रममा खनालले राष्ट्रियतामाथिको खतरा विभिन्न खालका सन्धि, सम्झौताका कारण आएको बताए । उनले अमेरिकी सहायता परियोजना (एमसीसी) का कारण पनि देशको राष्ट्रियता खतरामा रहेको दाबी गरे ।

‘आज देशमा हेर्नुहोस्, देशको राष्ट्रियता त्यत्तिकै खतरामा बढीरहेको छ । राष्ट्रियतामाथिको खतरा । चाहे विभिन्न खालका सन्धि, सम्झौताहरू हुन्, चाहे यी नयाँनयाँ जस्तो एमसीसी भन्नुस्,’ उनले भने । एमसीसी अमेरिकाले खडा गरेको इन्डोप्यासिफिक स्टाटेजी भएको खनालको भनाइ छ । ‘एमसीसी अमेरिकी साम्राज्यवादले खडा गरेको जुन इन्डोप्यासिफिक स्टाटेजी हो । त्यसको अभिन्न अंग हो । त्यो अभिन्न अंगको रूपमा उसले हर प्रकारले लाद्न कोशिस गर्दैछ । अब अहिले पनि त्यसलाई कार्यान्वयन गर्ने जोड अमेरिकाले दिइरहेको छ,’ उनले भने ।

अनुमोदन गर्ने क्रममा १२ बुँदे व्याख्यात्मक घोषणा भने पनि त्यसलाई अमेरिकाले नमान्ने उनको दाबी छ । अहिलेसम्म नेपालले पठाएको भनेको व्याख्यात्मक घोषणा अमेरिकाले लागू नगरेको उनले बताए । ‘अनुमोदन गर्ने क्रममा व्याख्यात्मक घोषणा भनेर गरियो । त्यो व्याख्यात्मक घोषणाका कुराहरू लागू भए की भएनन् । पक्कै लागू भएको छैन,’ खनालले भने, ‘यी कुरालाई अमेरिकाले सुन्ने पनि छैन । एउटा कानले पनि सुनेको छैन ।’ ५ सय मिलियन डलर मात्र नभइ ५५ अर्ब दिए पनि आपत्ति नरहेको तर अमेरिकाले अघि सारेको सर्त मान्य नहुने उनको भनाइ छ ।

‘सम्झौतामार्फत नेपालले पाउने जम्मा ५ सय मिलियन डलर हो । त्यो डलर प्राप्त गर्ने कुरामा कुनै आपत्ति छैन, अमेरिकाले नेपाललाई अनुदान दिन चाहन्छ भने ५५ करोड किन ५५ अर्ब दिए पनि हुन्छ । तर सर्तहरू जुन ढंगले लाद्न खोजिएको छ, त्यो एउटा सर्त पनि मान्य हुँदैन,’ खनालले भने, ’कार्यान्वयन गर्दा मान्छे लिएर आउँछन्, त्यो मान्छेलाई नेपालले कुन देशको नागरिक हो ? तपाईं भनेर सोध्न पाउँदैन । ब्यागमा के लिएर आउँछन्, त्यो हेर्न मिल्दैन । यस्ता शर्त त्यसभित्र छन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७