प्रतिनिधि सभाका १० वटै समितिको बैठक बस्दै


११ भाद्र २०८०, सोमबार
samsadiya samiti

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गत १० वटै विषयगत समितिको बैठक आज (सोमबार) बस्दैछ । समितिको सभापति निर्वाचनका लागि सबै विषयगत समितिको बैठक दिउँसो ३ बजे बोलाइएको हो ।

संसदीय समितिको बैठकमा आज सभापति घोषणा हुनेछ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हितबाहेक अन्य ९ वटा समितिमा एकल उम्मेदवारी परेको छ । यसमा मात्रै निर्वाचन हुन लागेको हो । उद्योग तथा वाणिज्य समितिमा सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षीका तर्फबाट जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीले गणेश पराजुली उम्मेदवार बनेका छन् ।

दिउँसो ३ बजे प्रस्ताव प्रस्तुत गर्ने मतदानको प्रक्रिया अघि बढ्ने छ । आइतबार कांग्रेसबाट अर्थ समितिमा सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा आरजु राणा देउवाले उम्मेदवारी दिएका थिए । एकल उम्मेदवारी परेका कारण तीनै जना निर्विरोध सभापति चयन भएका छन्। यद्यपि त्यसको घोषणा भने हुन बाँकी छ ।

त्यस्तै नेकपा (एमाले) बाट सार्वजनिक लेखा समितिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समितिमा किरणकुमार साहको उम्मेदवारी परेको थियो । उनीहरू पनि निर्विरोध चयन भइसकेका छन् । जनता समाजवादी पार्टीबाट राजकिशोर साहले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा उम्मेदवारी दिएका छन् भने शिक्षा तथा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशी उम्मेदवार बनेका छन् । नेकपा (माओवादी केन्द्र) ले कानून, न्याय तथा मानवअधिकार समिति पाएको छ । जसमा विमला सुवेदी उम्मेदवार बनेकी छिन् । उनीहरू पनि निर्विरोध सभापति चुनिइसकेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले भागबण्डामा पूर्वाधार विकास समिति पाएको छ । उक्त समितिमा राप्रपाबाट दीपक सिंह निर्विरोध चुनिए । राप्रपालाई समिति सभापति दिने क्रममा कोशी प्रदेश सरकार गठनका विषयमा समेत सहमति बनेको बताइएको छ ।
संसदीय समितिहरूले कानून निर्माणका साथसाथै सरकारका काम कारबाहीको निगरानी गर्ने गर्छन् । प्रधानमन्त्रीदेखि मन्त्रीहरूलाई डाकेर समितिहरूले प्रष्टीकरण लिन पाउँछन् भने सरकारको कामको निगरानी गर्ने गर्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७