पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा डोरो बाँध्ने भक्तजनको घुइँचो


१४ भाद्र २०८०, बिहीबार
janai scaled

काठमाडौँ । जनैपूर्णिमा एवं रक्षाबन्धन पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा नवयज्ञोपवीत फेर्ने एवं डोरो बाँध्ने भक्तजनको घुइँचो लागेको छ । यस पर्वका अवसरमा तागाधारीले नजिकैको नदी, खोला, पोखरी, ताल, तलाउमा गई विधिपूर्वक स्नान गरेर नवयज्ञोपवीत धारण गरी डोरो बाँध्ने गर्छन् । अन्यले भने डोरो बाँधेर यो पर्व मनाउने गरेका छन् । वाग्मती नदीको तीरमा रहेको पशुपतिनाथ, गोकर्णेश्वर, बराहकर्णेश्वर, कुम्भेश्वरलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

यसैगरी वसन्तपुर दरबार क्षेत्रको अशोकविनायक मन्दिर क्षेत्र, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथका नामले चिनिने मक्खन महादेव मन्दिरलगायतमा पनि बिहानैदेखि भक्तजनको भीड घुइँचो लागेको छ ।

janai 2

यी स्थलमा ब्राह्मण एवं पुरोहित डोरो बाँध्ने र नयाँ जनै फेराउने गरिरहेको देखिन्छ । कतिले घरमै विधिपूर्वक स्नान गरेर यज्ञोपवीत र डोरो बाँधेर यो पर्व मनाउँछन् । पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि नै भक्तजनको घुइँचो लागेको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

पशुपति क्षेत्रका विभिन्न स्थानमा बसेका ब्राह्मणसँग नव यज्ञोपवीत धारण गर्न र डोरो बाँध्न भक्तजनको लाम लागेको उनले बताए । पशुपति क्षेत्रका गुह्येश्वरी, चन्द्रविनायकका नामले चिनिने चावहिल गणेशलगायत ठूला, साना मन्दिरमा पनि डोरो बाँध्ने र नयाँ जनै फेर्ने भक्तजनको घुइँचो लागेको छ । यस अवसरमा राजधानी र देशका अन्य ठूला, साना मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ ।

प्रत्येक वर्ष मनाइने यो पर्वमा रक्षाबन्धन अर्थात् डोरो बाँध्ने कर्म गरेपछि मानिस विभिन्न नकारात्मक शक्तिबाट सुरक्षित हुने धार्मिक विश्वास छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ । यसै दिन विश्व संस्कृत दिवस पनि मनाउन थालिएको छ । जरोकिलो प्रतिष्ठानले श्रावण शुक्ल पूर्णिमा र ऋषितर्पणी पर्वको अवसर पारेर विश्व संस्कृत दिवस मनाउन थालेको हो ।

यस अवसरमा विभिन्न नौ वा ११ किसिमका गेडागुडी भिजाएर टुसा उमारी तयार हुने क्वाँटी पकाएर खाइन्छ । यसले वर्षाभर शरीरमा गाडिएको चिसो निकाली स्वस्थ बन्न मद्दत पुग्ने आयुर्वेद शास्त्रीय विश्वास रहेको छ । यस पर्वका अवसरमा रसुवाको गोसाइँकुण्ड, सिन्धुपाल्चोकको पाँचपोखरी र नौलिङ्गेश्वर कुण्ड, सोलुखुम्बुको दूधपोखरी, देवघाट, रिडी, त्रिवेणीलगायत स्थानमा मेला लागेको जनाइएको छ । केहीले भने बुधबार नै रक्षाबन्धन पर्व मनाएका छन् ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व आजै मनाउनु शास्त्रसम्मत रहेको जनाएको छ । बुधबार भद्रा परेकाले यो पर्व मनाउन नहुने योग परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । शुक्रबार प्रतिपदा तिथि नरहेकाले प्रत्येक वर्ष भाद्रकृष्ण प्रतिपदाका दिन मनाइने गाईजात्रा पनि आजै परेको उनले बताए । आज बिहान ७ः४५ बजेसम्म पूर्णिमा र त्यसपछि प्रतिपदा तिथि लाग्ने समितिले स्वीकृति दिएका पाात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७