करको दायरा नबढाउन आग्रह


१४ भाद्र २०८०, बिहीबार
sundar haraicha

मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिकाले करको दायरालाई वृद्धि गरेको जनाउँदै यसलाई फिर्ता गर्न आग्रह गरिएको छ । विभिन्न राजनीतिक दलले यहाँ चरणबद्ध सङ्घर्षका कार्यक्रमलाई जारी राख्दै सर्वसाधारणले तिर्न नसक्ने गरी निर्धारण गरिएको करलाई पुनरावलोकन गर्न माग गरेका हुन् ।

ती दलले पहिलाकै अवस्थामा करलाई ल्याउन अनुरोध गर्दै यसो नगरिए थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । ‘कर तिर्न हामी तयार छौँ तर नाजायज कर तिर्न हामी बाध्य छैनौँ’ भन्ने नाराका साथमा बृहत् नागरिक कार्यक्रम समेत आयोजना गरिएकोे छ । कार्यक्रमसँगसँगै करवृद्धिविरूद्धको हस्ताक्षर सङ्कलन जारी राखिएको छ । इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समिति अध्यक्ष नवराज चापागाईंले वृद्धि भएको कर नघटाएसम्म आन्दोलनका कार्यक्रम जारी रहने बताए ।

सुन्दरहरैँचा नगरपालिकाको १२औँ नगरसभाबाट आव २०८०÷८१ का लागि पारित आर्थिक ऐन, २०८० जनताका पक्षमा नदेखिएको सुन्दरहरैँचा नगरपालिकाका संस्थापक नगर प्रमुख शिवप्रसाद ढकाल जानकारी दिए । उनले जनताको जीवनस्तरलाई कसरी सहज बनाउने, खस्कँदो व्यवसायलाई कसरी प्रोत्साहित गर्ने र आत्मनिर्भर बन्न नगरस्तरीय आन्तरिक उत्पादनको वृद्धि कसरी गर्ने भन्ने तर्फ ध्यान दिन आग्रह गरे ।  स्थानीय शिक्षासेवी तथा राजनीतिकर्मी महेश आचार्यले जनभावनाको कदर गर्दै कर सन्तुलित र जनप्रिय बनाउन सुझाव दिनुभयो ।  राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित नगरसभापति टेकमणि न्यौपाने (विवेक) ले हालको अव्यावहारिक आर्थिक ऐन, २०८० लाई व्यावहारिक बनाउन माग गरे । 

सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईंले जग्गाको वर्गीकरण गर्ने क्रममा  सामान्य कर बढेको हुनसक्ने उल्लेख गर्दै बढी भए पुनर्विचार गरिने बताए । ‘आफ्नो जग्गाको वर्गीकरण परिवर्तन गर्न चाहेमा नगरमा निवेदन दिन सकिने छ’, उनले भने, ‘जग्गाको वर्गीकरण जनताको हित र भलाइका लागि परिवर्तन पनि हुनेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७