पोखरामा २३ वर्षपछि मनाइयो बाघजात्रा


२१ भाद्र २०८०, बिहीबार
bagjatra pokhara

पोखरा । पोखरामा सोमबार शुरु भएको ऐतिहासिक बाघजात्रा बुधबार सकिएको छ । पोखराका नेवार समुदायले २३ वर्षपछि बाघजात्रा मनाएका हुन् ।

पोखरामा आयोजक समिति निर्माण गरेर बाघजात्रा देखाइएको हो । विभिन्न कारण २०५७ सालदेखि यता यो जात्रा रोकिएको थियो । त्यसपछि पोखरामा पुनः जात्रा देखाइएको बाघजात्रा आयोजक समितिका अध्यक्ष जवाहरलाल श्रेष्ठले बताए । उनका अनुसार पहिलो दिन भदौ १८ गते नेवा छें हुँदै मोहरियाटोल, बागबजार, बालमन्दिर स्कुल, वडा नम्बर ३ कार्यालय, बालधाराचोक, नालामुखचोक पुगेको थियो । दोस्रो दिन १९ गते नेवा छे हुँदै गणेशटोल, सिमलचौर, सिर्जनाचोक, लखनचोक, महेन्द्रपुल हुँदै जात्रा नेवाः छे पुगेर सकिएको हो ।

अन्तिम दिन २० गते मुख्य समापन समारोहका लागि नेवाः छेबाट भीमसेन मन्दिर तेर्सापट्टि, महेन्द्रपुल, रानीपौवा, माटेपानी, गौडामुख, कुँडहरचोक, अमरसिंहचोक हुँदै रंगशाला पुगेको उनले बताए । जात्रामा बाघ, राजारानी, छोटा राजारानी, राजाका सुरक्षा गार्ड, प्रधानमन्त्री, मन्त्री, यमराज, घोडासहित सेना, प्रहरी, कुमारी, लाखे, ज्यासीन्यासी (बच्चाहरू) र प्रजाका रूपमा पोखराका नेवार समुदायका व्यक्तिले अभिनय गरेका थिए । पोखराका नेवार समुदायले विभिन्न संस्कृति र जात्राको संरक्षण गर्दै आएका छन् ।

२३ वर्षपछि भएको बाघजात्रामा केही कमजोरी र चुनौती रहेको आयोजक समितिका सचिव सुनिल उलकले जानकारी दिए । ‘कार्यक्रम भव्यरूपमा सम्पन्न भयो तर केही कमजोरी र चुनौती अवश्य रहे’, उनले भने, ‘२३ वर्षअघि जति उपस्थिति थियो त्यति हुन सकेन। यसमा पोखरामा रहेका कतिपय सङ्घसंस्थाहरूमा पत्र नपुगेको भन्ने आयो । आगामी दिनमा यसलाई सुधार्नु पर्छ ।’

जात्रामा मुस्ताङी समुदाय, मगर समुदायले साथ दिएको थियो । यसबाहेक भक्तपुरको घिन्ताघिसी (५० जनाको समूह) ले विभिन्न साँस्कृतिक नृत्यहरू प्रदर्शन गरेको थियो । धार्मिक किंवदन्तीअनुसार प्रहसनमा डमी बाघलाई मारेर हिंसाको अन्त्य भएको सन्देश प्रवाह गरिएको जात्रा अन्त्य भएको सचिव उलकले बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७