कैकु–खन्ती सडक खण्ड कालोपत्र भएपछि यात्रा अवधि छोटियो


२१ भाद्र २०८०, बिहीबार
beni road
फाइल फोटो

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोला देखि गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्र भएपछि यात्राअवधि छोटिएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक योजना अन्तरगत कैकुखोला–खन्ती खण्डको १६ किलोमिटर सडक कालोपत्र गर्ने काम सम्पन्न भएको हो ।

योजना प्रमुख जगत प्रजापतिले सडक कालोपत्र भएपछि एक घण्टा तीस मिनेटको यात्रावअधि ३० मिनेटमा छोटिएको जानकारी दिए । ‘कैकुखोला–खन्ती खण्डमा सडक कालोपत्र भएपछि एक घण्टा यात्रा अवधी छोटिएको छ’, उनले भने, ‘मुस्ताङका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई सहज भएको छ ।’

११ मिटर फराकिलो बनाइएको सडकमा नाली, ग्यावीयन पर्खाल निर्माण र ग्राभेलपछि ७ देखि ८ मिटरको चौडाइका दरले आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो । उकालो सडकमा ढलान गरिएको छ । भिरको जोखिमयुक्त सडकको डिलतर्फ साइडबार राखिएको छ । सडक कालोपत्र भएपछि यात्रा अवधी छोटिएको र आवत जावत सहज भएको स्थानीयबासीहरुलेब ताएका छन् । मालढुङ्गादेखि कोरला नाकाको २०२ किलोमिटर दूरीको सडक विस्तार गर्न सञ्चालित १२ वटा प्याकेज मध्य कैकु–खन्ती खण्डको मात्रै पूर्णरुपमा कालोपत्र भएको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको तेस्रो प्याकेजमा पर्ने सो सडक कालोपत्र गर्न वि.स. २०७४ जेठमा शर्मा–गजुरमुखीसँग ठेक्का सम्झौता भएको थियो । कैकु–खन्ती सहित बेनी–जोमसोम खण्डको चार प्याकेज (भाग) मा छुट्टा छुट्टै निर्माण कम्पनीहरुसंग रु. दुई अर्ब ५० करोडमा ठेक्का सम्झौता भएको थियो । शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपाने (राजन) ले कम्पनीले ठेक्का लिएको राहुघाट र लेतेखोलाको मोटरेबल पुल निर्माणको काम पनि सकिएको जानकारी दिए ।

‘शर्मा–गजुरमुखीले ठेक्का लिएको तीन वटा प्याकेज मध्य दुई वटा प्याकेज कालोपत्र र दुई वटा पुल निर्माण सकिएको छ’, उनले भने, ‘७५ प्रतिशत भौतिक प्रगति भएको दोस्रो प्याकेजको म्याग्दी खण्डमा पहिरोले धेरै क्षति गरेको छ । यो खण्डलाई पूर्णता दिने प्रयासमा छौ । छाक्ताङखोलाको मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।’

वि.स. २०७४ मा शुरु भएको चिनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने २०२ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ वटा खण्डमा निर्माण भइरहेको छ । हालसम्म मुस्ताङको सात वटा खण्ड निर्माण सकिएको आयोजनाको भौतिक प्रगति करिब ७५ प्रतिशत छ ।

११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको सात मध्य छ वटा खण्डको सडक ग्राभेल गरेर ठेकेदारले हस्तान्तरण गरिसकेका योजना प्रमुख जगत प्रजापतिले बताए । आठ वटा पक्की पुल र तीन वटा बेलिब्रिज निर्माण सकिएका छन् । थप एक वटा मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।

१२ वटा मोटरेबल पुल निर्माणाधिन छन् । थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताब गरिएको आयोजना प्रमुख प्रजापतिले बताए । यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको छ । सडकले पुर्वाधार, आर्थिक, ब्यापारीक, जलविद्युत, पर्यटन र धार्मीक स्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको म्याग्दी प्रदेशसभा क्षेत्र (क) बाट निर्वाचित गण्डकी प्रदेश सांसद हरिबहादुर भण्डारीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७