‘सिंहदरबार जलाउँछु’ भन्नेलाई कानुनी प्रक्रियामा ल्याएर कारबाही गर्नुपर्छ : सांसद पौडेल


२१ भाद्र २०८०, बिहीबार
devendra poudel

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले अराजक अभिव्यक्ति दिनेलाई राज्यको कानुनी प्रक्रियामा ल्याएर कारबाही गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आज (बिहीबार) को बैठकमा बोल्दै उनले राज्यको एउटा तहको सरकार प्रमुखले ‘चोर’ भन्ने शब्द प्रयोग गर्दै सिंहदरबार जलाउने उद्घोष गरेकोप्रति आपत्ति जनाउँदै सो कुरा बताएका हुन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले केही दिनअघि सामाजिक सञ्जालमार्फत सिंहदरबार जलाउने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्ति विवादित बनेपछि उनले सामाजिक सञ्जालमार्फत स्टाटस समेत हटाएका थिए ।

‘विधिको शासन, मानव अधिकार हाम्रो देशमा छैन र ? निर्वाचित राज्यको एउटा तहको सरकार प्रमुखले विना कारण राज्यको जिम्मेवारी सम्हालेका व्यक्तिलाई ‘चोर’ भन्ने शब्द प्रयोग गर्दै सिंहदरबार जलाउने उद्घोष गर्छ । हो कि होइन भन्ने कुरा उहाँहरुको आफ्नै भाषाबाट हामी बुझौं,’ सांसद पौडेलले भने ।

अहिलेको प्रणाली ल्याउन लडेको भन्दै यसको सुरक्षा गराउने दायीत्व पनि आफूहरूको रहेको बताए । ‘यो प्रणाली ल्याउनका लागि हामीले हिजो लड्यौं । यसको सुरक्षा गराउने पनि हाम्रो दायित्व छ । यस्ता प्रकारका अराजक अभिव्यक्ति दिनेलाई राज्यको कानुनी प्रक्रियामा ल्याएर कारबाही गर्न पनि म आग्रह गर्न चाहन्छु,’ सांसद पौडेलले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७