चिनियाँ राजदूतलाई तत्काल फिर्ता पठाउनु पर्छ : जनमत पार्टी


२१ भाद्र २०८०, बिहीबार
Abdul Khan Baahrakhari scaled
फाइल फोटो

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले दिएको अभिव्यक्तिप्रति सांसदहरूले आपत्ति जनाएका छन् ।
आज (बिहीबार) प्रतिनिधिसभा बैठकमा जनमत पार्टीका सांसद अब्दुल खानले नेपालको परराष्ट्र नीति निर्धारण गर्ने अधिकार विदेशी मुलुकका राजदूतको नभएको बताएका छन् ।

‘विदेशी मुलुकको राजदूतले परराष्ट्र नीति निर्धारण गर्ने होइन । नेपालको कस्तो परराष्ट्र नीति राख्ने नेपालले आफै निर्धारण गर्ने हो’, उनले भने । चिनियाँ राजदूतको उक्त अभिव्यक्तिका विषयमा तत्काल स्पष्टीकरण सोध्नु पर्नेमा सांसद खानले जोड दिए । ‘उक्त राजदूतलाई परराष्ट्र मन्त्रालयले तुरुन्त स्पष्टीकरण लिनुपर्छ । तत्काल नेपालबाट फिर्ता पठाउनु पर्छ भन्ने माग गर्दछु’, उनले भने ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी पार्टी (लोसपा)का सांसद सर्वेन्द्रनाथ शुक्लले पनि चिनियाँ राजदूतको अभिव्यक्तिप्रति आपत्ति जनाए । उनले त्यसबारे परराष्ट्र मन्त्रालयले छिट्टै जवाफ दिनुपर्ने माग गरेका छन् । ‘छिमेकी मुलुकको राजदूतको अभिव्यक्तिप्रति घोर आपत्ति गर्न चाहन्छौँ । परराष्ट्र मन्त्रालय जुन किसिमले मौन बसेको छ, नोटिसमा लिने तर नबोल्ने स्थिति उचित होइन’, उनले भने ।

उनले आपसी समझदारीमा तेस्रो पक्षको हस्तक्षेप सह्य नहुने पनि बताए । गएको शनिबार काठमाडौंमा नेपाल चाइना हिमालय फ्रेन्डसिप नेपाल नामक गैरसरकारी संस्थाको कार्यक्रममा राजदूत सोङले ‘भारत जस्तो छिमेकी मुलुक नेपालले पाउनु दुर्भाग्य’ भन्ने अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७