बंगलादेशको भारतमाथि रोमान्चक जित


२९ भाद्र २०८०, शुक्रबार
Bangladesh Netherlands. 2048x918 1

एजेन्सी । बंगलादेशले एसिया कपको सुपर फोर खेलमा भारतमाथि पाँच रनको रोमान्चक जित हात पारेको छ । फाइनलमा पुग्न नसकेपनि भारतलाई हराउँदै एसिया कप अन्त्य गरेको छ । शीर्ष दुईमा रहँदै भारत र श्रीलंकाले उपाधिको लागि भिड्ने यसखेल अघिनै पक्का भएको थियो ।

जितको लागि २ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको भारत ४९.५ ओभरमा २ सय ५९ रनमा अल आउट भयो । भारतका युवा ओपनर शुभमन गिलले १ सय ३३ बलमा ८ चौका र ५ छक्कासहित सर्वाधिक १ सय २१ रनको शतकीय इनिङ खेलेपनि भारत पराजित भयो ।

युवा तीव्र गतिका बलर तान्जिम हसन सकिबले दोस्रो बलमै रोहित शर्मालाई शून्यमा क्याच गराउँदै पेभेलिएन फर्काएका थिए । डेब्यू खेल खेलेका उनले ड्रिम सुरुवात गरेका थिए । तान्जिमले तिलक बर्मालाई ५ रनमा बोल्ड आउट गर्दै भारतलाई दबाब बढाए ।

gill 1

स्पिनर मेहेदी हसन मिराजले ईशान किशनलाई ५ रनमा एलबीडब्लू आउट गरे । अर्का स्पिनर मेहेदी हसनले लोकेश राहुललाई १९ रनमा शमिम हसैनबाट क्याच गराएका थिए । सकिब अल हसनले सूर्यकुमार यादवलाई २६ रनमा बोल्ड आउट गरेपछि बंगलादेशको जितको सम्भावना बढेको थियो ।

तीव्र गतिका बलर मुश्ताफिजुर रहमानले रविन्द्र जडेजालाई ७ रनमा बोल्ड आउट गरे । स्पिनर मेहेदी हसनको ४४ औं ओभरको चौथो बलमा शुभमन गिल लगातार दोस्रो छक्का हान्ने धुनमा तौहिद हृदोयबाट क्याच आउट भएका थिए ,
भारतलाई जितको लागि अन्तिम १२ बलमा १७ रन चाहिँएको थियो ।

तीव्र गतिका बलर मुश्ताफिजुर रहमानले पहिलो बलमा शार्दुल ठाकुरलाई ११ रनमा मेहेदी हसन मिराजबाट क्याच आउट गराए । दोस्रो बलमा मोहम्मद शामीलाई एक रन दिदा तेस्रो बलमा अक्षर पटेलले चौका प्रहार गरे । तर चौथो बलमा पटेल तान्जिदबाट क्याच आउट भएपछि बंगलादेश जित नजिक पुगेको हो ।
अन्तिम ६ बलमा भारतलाई जितको लागि १२ रन आवश्यक पर्दा हातमा १ विकेट थियो । चौथो बलमा शामीले चौका हानेपछि दुई बलमा ८ रन चाहिँएको थियो । पाँचौं बलमा दोस्रो रन लिनेक्रममा शामी रन आउट भएपछि बंगलादेश विजयी भएको थियो ।

बंगलादेशका मुश्ताफिजुर रहमानले ८ ओभरमा ५० रन खर्चेर ३ विकेट लिए । तान्जिमले ७।५ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । मेहेदी हसनले ९ ओभरमा ५० रन खर्चेर २ विकेट लिए । मेहेदी हसन मिराज र सकिब अल हसनले एक एक विकेट लिए ।

त्यसअघि कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६५ रन बनाएको थियो । बंगलादेशको जितमा कप्तान सकिब अल हसनले ८५ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ८० रनको योगदान दिएका थिए । सकिब शार्दुल ठाकुरको बलमा बोल्ड आउट भएपछि शतक सम्म पुग्न सकेका थिएनन् ।

sakib

युवा ब्याटर तौहिद हृदोयले ८१ बलमा ५ चौका र २ छक्कासहित ५४ रन बनाए । एक समय १४ ओभरमा ५९(४ को अवस्थामा पुगेको बंगलादेशलाई पाँचौं विकेटका लागि सकिब र हृदोयले १ सय १ रनको महत्वपूर्ण शतकीय साझेदारी गरेका थिए ।

तल्लोक्रममा नासुम अहमदले ४५ बलमा ६ चौका र १ छक्कासहित ४४ रन बनाएका थिए । ओपनर तान्जिद हसन १३, लिटन दास डक, अनमुल हक ४, मेहेदी हसन मिराज १३ र शमिम हसन १ रनमा आउट भए । मेहेदी हसन २३ बलमा ३ चौकासहित २९ रनमा नटआउट रहे । डेब्यू खेल खेलेका तान्जिम हसन सकिब ८ बलमा १ चौका र १ छक्कासहित १४ रन बनाए ।

भारतका तीव्र गतिका बलर शार्दुल ठाकुरले १० ओभरमा ६५ रन खर्चेर ३ विकेट लिए । मोहम्मद शामीले ८ ओभरमा १ मेडनसहित ३२ रन खर्चेर २ विकेट लिए । प्रसिद्ध कृष्णा, अक्षर पटेल र रविन्द्र जडेजाले एक एक विकेट लिए ।

भारतले फाइनलमा आइतबार घरेलु टोली श्रीलंकासँग खेल्नेछ । पाकिस्तान र बंगलादेश भने सुपर फोरबाटै बाहिरिएका छन् । नेपाल समूह ए र अफगानिस्तान समूह बी बाटै बाहिरिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७