भारत जाँदै गरेको गाडीबाट ९ क्वीन्टल गाँजा बरामद, दुई भारतीय पनि समातिए


१ आश्विन २०८०, सोमबार
Gaja

हेटौँडा । सशस्त्र प्रहरी बल १४ नम्बर गढ हेडक्वार्टर मकवानपुरले हेटौंडाबाट ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ ।

टोलीले आइतबार हेटौंडाबाट भारततर्फ जाँदै गरेको भारतीय एन एल ०१ एसी २१४४ नम्बरको ट्रकबाट नौ क्विन्टल लागुऔषध गाँजा बरामद गरेको सशस्त्रका वरिष्ठ प्रहरी उपरीक्षक अनिल कार्कीले बताए ।

विशेष सूचनाका आधारमा सवारी खानतलासी गर्दा हेटौंडा बजार क्षेत्रबाट गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको कार्कीले बताए । बरामद भएको ट्रकको भित्री भागमा फल्स बटन बनाएर गाँजा राखी पुनः वेल्डिङ गरेर लुकाई ल्याएको अवस्थामा गाँजा बरामद गरिएको उनले बताए ।

पक्राउ पर्नेमा भारतीय नागरिक भारत बलरामपुर विर्तापुर निवासी चालक करिब ४५ वर्षका दुलारे यादव र सहचालक योगेश बर्मा रहेका प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७