डा. सुवेदीको मनुले जित्यो पद्मश्री साहित्य पुरस्कार


८ आश्विन २०८०, सोमबार
Manu16802471041695608725

काठमाडौं । २०७९ सालको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीको उपन्यास मनुले जितेको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वितरण गर्दै आएको पुरस्कार मनुलाई प्रदान गर्ने निर्णय गरिएको हो ।

२०६३ सालदेखि प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्‍याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ । मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित माजिक–सांस्कृतिक उपन्यास हो । मूल पात्र मनुको नेतृत्वमा सुर र असुरबीचको द्वन्द्व समाप्त भई उनकै नेतृत्वमा मानव जातिको विकास भएको कथा यस उपन्यासमा चित्रण गरिएको छ ।

प्राप्त १८० पुस्तकमध्येबाट छनौट प्रक्रियाको पहिलो चरण (विस्तारित सूची) मा पन्ध्र र दोस्रो चरण (संक्षिप्त सूची) मा पाँच पुस्तक परेका थिए । यसैगरी पद्मश्री साधना सम्मान २० को दशकदेखि चित्रकला र कार्टुन कलाका क्षेत्रमा महत्वपूर्ण योगदान दिने कलाकार दुर्गा बराल (वात्स्यायन) लाई अर्पण गर्ने निर्णय गरिएको छ ।

उनले नेपाली कार्टुनलाई नयाँ शैली तथा कलात्मक र धारिलो व्यङ्ग्यका माध्यमबाट नवीन दिशा दिएका छन् । नेपाली चित्रकलामा पनि उनको योगदान विशिष्ट रहेको छ । गत वर्षबाट सुरु गरिएको पद्मश्री गौरव पुरस्कार यस वर्ष शिक्षाको क्षेत्रमा विशेष योगदान दिने शिक्षाविद् तथा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई अर्पण गर्ने निर्णय गरिएको छ ।

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीन वटैको राशि जनही तीन लाख रुपैयाँ रहेको छ । तीनवटै सम्मान तथा पुरस्कार प्रत्येक वर्षझैं कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिने खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठान जीवा लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७