धौलागिरि आरोहण सुरु : एकै दिन चार विदेशीसहित १३ जनाले चुमे चुचुरो


१३ आश्विन २०८०, शनिबार
mount dhaulagiri

म्याग्दी । चालु शरद याममा म्याग्दीमा रहेको धौलागिरि हिमाल आरोहण सुरु भएको छ । विश्वको सातौं अग्लो धौलागिरि म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा पर्दछ । सेभेन समिट ट्रेक्सका शेर्पाले धौलागिरि हिमालको आधार शिविरदेखि चुचुरोसम्म पुग्ने बाटो खोलेपछि शुक्रबारदेखि आरोहण सुरु भएको हो । शुक्रबार चार जना विदेशीसहित १३ जनाले धौलागिरिको सफल आरोहण गरेको सेभेन समिट ट्रेकका शेर्पा मिङमा शेर्पाले जानकारी दिए ।

रुसका एलिना पेकोवा, फ्रान्सका कलास्डेयर म्याकेन्जी, आइसल्याण्डका होस्कुडर होड्डी र ब्राजीलका मोसेस फियामोन्सिनीले आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरिको सफल आरोहण गरेको शेर्पाले बताए । सो टोलीमा रहेका निमा रिन्जी शेर्पा, तेन्जेन शेर्पा (लामा), मिङतेम्बा शेर्पा, पासाङ नुर्वु शेर्पा, पासाङ दावा शेर्पा, नाङबा शेर्पा, मिङमा नुुरवु शेर्पा र पेम्बा दोर्ची शेर्पा पनि धौलागिरिको चुुचुरोमा पुगेका छन् ।

विभिन्न ट्रेकिङ कम्पनीमार्फत चार समूहका १२ पुरुष र ११ महिला पर्वतारोहीले धौलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ । विभागका अनुसार धौलागिरि हिमाल आरोहणको अनुमति लिएका अरोहीबाट रु २७ लाख ४३ हजार पाँच सय १५ रोयल्टी (सलामी दस्तुर) प्राप्त भएको छ ।

गत वसन्त याममा चार समूहका १२ महिलासहित ३७ जनाले धौलागिरि हिमाल आरोहण गर्दा रु ८६ लाख २४ हजार तीन सय ३० शुल्क सङ्कलन भएको थियो । पर्यटन विभागले शुक्रबार जारी गरेको विवरणअनुसार चालु यामका लागि नेपालका २६ हिमाल आरोहण गर्न ५१ देशका चार सय ३६ जनाले अनुमति लिएका छन् ।

उनीहरुबाट रु चार करोड दश लाख १४ हजार सात सय ९७ रोयल्टी प्राप्त भएको छ । वसन्त याममा नेपालका २८ हिमाल आरोहण गरेका एक हजार एक सय ७६ जनाले रु ७६ करोड ५७ लाख ५८ हजार तीन शुल्क तिरेका विभागले जनाएको छ ।
शरदमा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही नौ सय डलर तिर्नुपर्छ ।

अन्य साना हिमालका लागि न्यूनतम १२५ देखि अधिकतम चार सयसम्म सलामी दस्तुर तिर्नुपर्छ । शरद याममा सबैभन्दा बढी गोरखामा रहेको आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्न २६ समूहका तीन सय एक जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । मनास्लु पछि धेरै आरोहणको अनुमति लिएको हिमाल धौलागिरि हो । हिमचुली १४ जना, आमदब्लाम हिमाल १० जना, टुकुचे पिक र बरुण हिमाल आठ-आठ जना, खयाङ ६ जना, पुथा, कुम्बकर्ण, लिङट्रेन, चोयु हिमाल आरोहण गर्न पाँच-पाँच जनाले अनुमति लिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७