‘पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउन आवश्यक छ’


१३ आश्विन २०८०, शनिबार
tourist

काठमाडौँ । पर्यटन क्षेत्रमा कार्यरत महिलाले दिगो र जिम्मेवार पर्यटनले मात्र देश विकासमा सहयोग पुग्न सक्ने बताएका छन् । पर्यटन क्षेत्रमा कार्यरत महिलाको साझा संस्था ‘टुरिजम सिस्टहुड एशोसिएसनको पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा दिगो र जिम्मेवार पर्यटन आजको आवश्यकता भएको बताएका हुन् ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले पर्यटन क्षेत्रमा कार्यरत महिलाको क्षमता अभिवृद्धिका लागि टुरिजम सिस्टहुड एशोसिएसनले महत्वपूर्ण भूमिका खेलेको बताइन् । ‘पर्यटन क्षेत्रमा महिलाको न्यून सहभागिता भएको अवस्थामा यस क्षेत्रमा महिला सहभागिता बढाउन आवश्यक छ’, उनले भनिन् ।

नेपाल वायुसेवा निगमकी कर्पोरेट निर्देशक अर्चना खड्काले पर्यटन क्षेत्रमा कार्यरत महिलाको क्षमता र नेतृत्वविकासमा एशोसिएसनले खेलेको भूमिकाको उच्च प्रशंसा गरिन् । ‘नेपाली महिला देश तथा विदेशका तारे होटल तथा एयरलाइन्समा विभिन्न पदमा पुगेका छन्, यो नेपाली महिलाका लागि खुशीको कुरा हो’, उनले भनिन् ।

बुद्ध एयरलाइन्सका कार्यकारी निर्देशक आस्था बस्नेत, मलेसियन एयरलाइन्स नेपालकी प्रमुख वाणिज्य सञ्चालक तृप्ती क्षेत्री, होटल मेची क्राउनकी उपमहानिर्देशक अलेशा कार्की महिला अगाडि बढ्नका लागि सशक्तिकरण आवश्यक रहेको बताएका थिए ।

सन् २०१८ मा नौ जनाबाट सुरु भएको सो एशोसिएसनले पर्यटन क्षेत्रमा कार्यरत महिलालाई सशक्त बनाई नेतृत्व विकासमा काम गर्दै आएको एशोसिएसनकी अध्यक्ष एवं सेवर नेपाल नेटवर्क नेपालकी महाप्रबन्धक अनुपा बुढाथोकीले जानकारी दिइन् । उक्त एशोसिएसनमा हाल ५० भन्दा बढी महिला आबद्ध रहेका छन् । कार्यक्रममा नेपाल एसोसिएसन टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष रमेश थापा, पूर्वअध्यक्ष सिएन पाण्डे, क्याथे प्यासिफिक एयरलाइन्सको नेपाल प्रमुख जुनु मलेखुलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७