सिक्किममा बाढी : २३ सैनिक बेपत्ता, हिमताल फुटेको आशंका


१७ आश्विन २०८०, बुधबार
sikkim flood 1696399844

काठमाडौं । उत्तरी सिक्किमको टिस्टा नदीमा बुधबार बिहान आएको बाढीका कारण कम्तीमा २३ सैनिक बेपत्ता भएका छन् । बाढीले सेनाका केही सवारीसाधन पनि बगाएको बताइएको छ ।

अचानक बाढी आउनुको कारण हिमताल विस्फोट भएर बाढी आएको हुनसक्ने अनुमान गरिएको छ । उत्तरी सिक्किमको चुङथाङमा पानीको सतह १५ देखि २० फिट बढेको र धेरै भवन एवं संरचना बगाएर लगेको बताइएको छ । बाढीले सिक्किमलाई पश्चिम बंगालसँग जोड्ने मेल्लीमा अवस्थित हाइवेको हिस्सा समेत बगाएको छ । सिक्किमको राजधानी गान्तोकबाट करिब ३० किलोमिटर टाढा रहेको सिङ्ताम सहरको इन्द्रेणी पुल पनि बाढीले बगाएको बताइएको छ । बाढीले बगाएको सेनाका गाडी सिङ्ताम नजिकै रहेको बर्दाङमा पार्किङमा रहेको बताइएको छ ।

सिङ्ताङमा क्लाउड ब्रस्ट भएसँगै बाढीको चेतावनी जारी गरिएको बताइएको छ । कुनै क्षेत्रमा करिब एक घण्टामा १०० मिलिमिटरभन्दा बढी पानी परेको अवस्थालाई क्लाउड ब्रस्ट भनिन्छ र बाढी आउँछ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बाढीको अवस्थाबारे जानकारी लिएका छन् ।

सिक्किममा विगत केही दिनदेखि भारी वर्षा भइरहेको छ । वर्षासँगै हिमताल विस्फोट भएर पनि अचानक ठूलो बाढी आएको आँकलन गरिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार सिक्किमको लोनाक हिमताल विस्फोट भएर टिस्ता नदीमा ठूलो बाढी आएको अनुमान गरिएको छ । सिक्किममा अझैं पनि भारी वर्षाको चेतावनी रहेका कारण स्थिति जटिल रहने ठानिएको छ । बाढीको थप क्षतिको विवरण आउन बाँकी छ भने, प्रभावित ठाउँहरूमा उद्धार र खोजीका कार्य भइरहेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७