विश्वकप क्रिकेट : बंगलादेश र अफगानिस्तान तथा दक्षिण अफ्रिका र श्रीलङ्का भिड्दै


२० आश्विन २०८०, शनिबार
cr

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा आज (शनिबार) दुई वटा खेल हुँदैछन् । आज बंगलादेश र अफगानिस्तान तथा दक्षिण अफ्रिका र श्रीलङ्काबीच खेल हुँदैछ ।

बंगलादेश र अफगानिस्तानबीच धर्मशालामा नेपाली समयअनुसार बिहान पौने ११ बजे खेल शुरु हुनेछ । त्यस्तै, दिउँसो सवा दुई बजे दिल्लीमा दक्षिण अफ्रिका र श्रीलङ्का खेल्ने छन् । एसियाली राष्ट्र श्रीलङ्का र अफ्रिकी राष्ट्र दक्षिण अफ्रिकाबीचको उक्त भिडन्त दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा हुनेछ । दिवा—रात्रि रूपमा खेलाइने उक्त खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ । श्रीलङ्का र दक्षिण अफ्रिका र दुवै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट टेस्ट मान्यता पाएका राष्ट्र हुन् । आईसीसीको पछिल्लो एक दिवसीय वरीयतामा दक्षिण अफ्रिका चौथो र श्रीलङ्का सातौँ स्थानमा छन् ।

श्रीलङ्काले एक दिवसीय विश्वकपको पहिलो संस्करणदेखि नै निरन्तर सहभागिता जनाउँदै आएको छ । त्यसैले विश्वकपमा श्रीलङ्काको यो १३औँ सहभागिता हो । दक्षिण अफ्रिकाले भने सन् १९९२ मा पहिलो पटक विश्वकप खेलेको थियो । विश्वकपमा दक्षिण अफ्रिकाको यो नवौँ सहभागिता हो । एक दिवसीय विश्वकपमा उपलब्धिको कुरा गर्दा दक्षिण अफ्रिकाभन्दा श्रीलङ्का निकै अगाडि देखिन्छ । श्रीलङ्काले एक पटक विश्वकपको उपाधि समेत चुमिसकेको छ । सन् १९९६ मा श्रीलङ्काले फाइनलमा अस्ट्रेलियालाई सात विकेटले हराउँदै उपाधि जितेको थियो ।

यसदेखि बाहेक पनि श्रीलङ्का थप दुई पटक एक दिवसीय विश्वकपको फाइनलमा पुगिसकेको छ । सन् २००७ को विश्वकपको फाइनलमा अस्ट्रेलियाले श्रीलङ्कालाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ५३ रनले हराएको थियो । त्यसलगत्तै सन् २०११ को विश्वकपको फाइनलमा भारतले श्रीलङ्कालाई ६ विकेटले पराजित गरेको थियो ।

यसका विपरीत दक्षिण अफ्रिकाले हालसम्म एक पटक पनि एक दिवसीय विश्वकपको उपाधि चुम्न सकेको छैन । उपाधि त टाढाको कुरा, दक्षिण अफ्रिका हालसम्म एक दिवसीय विश्वकपको फाइनलसम्म पनि पुग्न सकेको छैन ।यसअघि हिजो भएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनले र अस्ती भएको उद्घाटन खेलमा न्युजिल्याडले इङ्ल्याण्डलाई ९ विकेटले हराउँदै विजयी शुरुवात गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७