‘सरकारको नीतिले व्यासायीमा आतंक सिर्जना भयो’


२१ आश्विन २०८०, आईतवार
shyam ghimire samsad scaled

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले सरकारको नीतिका कारण व्यवसायीमा आतंक सिर्जना भएको बताएका छन् ।

आज (आइतबार) प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद घिमिरेले सरकारले सेवा क्षेत्रको सम्भावनाहरुमा डर, त्रास देखाएको बताए । उनले सेवा क्षेत्रमा सरकारले ढुलमुले नीति र निषेधको नीति अवलम्वन गरेका कारण व्यवसायीहरुमा आतंक सिर्जना भएको बताए ।

उनले निजी र सरकारी क्षेत्रको बीचमा पर्खाल खडा गरेर निजी क्षेत्रलाई निषेध गर्ने कोशिस गरिएको दाबी गरे । उनले हरेक ठाउँमा सरकारी सिन्डिकेट लागू गरिएको बताए । उनले सरकारी नीतिले निजी क्षेत्रलाई खेद्ने काम गरेको बताए ।

उनले भने, ‘नेपालको समाजवादी संविधानले सेवा क्षेत्रको सबै सम्भावनाहरुमा डर, त्रास, ढुलमुले नीति र निषेधको निति अवलम्वन गर्दै आएको छ । जस्तो नेपालको सरकारले मनशाय पत्र दिएर सम्बन्धन स्वीकृति नदिएका प्रस्तावित मेडिकल कलेजको संख्या १४, इन्जिनियरिङको संख्या ४५, स्वास्थ्य, शिक्षातर्फ ५०, कृषि, वन र भेटनरीतर्फ ७० वटा कलेजहरु छन् । ६७ वटा चलिरहेका नर्सिङ कलेजहरु ३ वर्षदेखि बन्द गरिएका छन् । यसबाट राज्यले रोजगारीको अवसर, राजश्व र सेवा क्षेत्रमा कति नोक्सानी व्यहोरेको छ, यसको चिन्ता सरकारलाई भएको देखिँदै छ ।’

उनले भने, ‘भएका निजी विद्यालयहरु कहिले बन्द गर्ने जस्ता बहसहरु सरकारीस्तरबाट चलाएर थप लगानीलाई निरुत्साहित गर्ने, व्यवसायीलाई आतंक सिर्जना गर्ने काम गरिन्छ । निजी क्षेत्र र सरकारी क्षेत्रको बीचमा यति ठूलो पर्खाल खडा गरिएको छ कि निजी क्षेत्रलाई सम्भव भएसम्म निषेध गर्ने कोशिस गरिएको छ । हरेक ठाउँमा सरकारी सिन्डिकेट लागू गरिएको छ । विद्यार्थीको शुल्कमा, चिकित्सकको दस्तुरमा हरेक ठाउँको सिन्डिकेटले व्यवसायको गुणस्तरीय प्रतिष्पर्धालाई निषेध गरिएको छ । यसबाट पढ्नका लागि विद्यार्थी एवं काम गर्नका लागि सबै मानिस विदेशिन बाध्य छन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७