कास्कीमा एक हजार चार सय बढीमा डेङ्गु


२४ आश्विन २०८०, बुधबार
dengue

कास्की । कास्कीमा पछिल्ला दिनमा डेङ्गुको संक्रमण बढेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म एक हजार चार सय ८१ मा संदद्धक्रमण पुष्टि भएको छ ।

केही दिनयता पोखराका अस्पतालमा डेङ्गु भएर उपचारका लागि आउनेको संख्या दैनिक बढ्दै गएको जनाइएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले ११ जना डेङ्गुका बिरामी उपचाररत छन् । त्यसमध्ये दुईको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीले बताए ।

‘अहिले दैनिक डेङ्गु संक्रमितको संख्या बढिरहेको छ । पानी पर्न नरोकिएकाले अझै केही दिन संक्रमण बढ्ने देखिन्छ’, उनले भने, ‘संक्रमितमा उच्च ज्वरो आउने, मांशपेशी दुख्ने, टाउँको दुख्ने, आँखा वा आँखाका गेडी दुख्ने, वान्ता हुने, थकान तथा बेचैनी हुने, जोर्नी दुख्ने लक्षण देखिने गरेका छन् ।’

स्वास्थ्य कार्यालयका प्रमुख बद्री आचार्यले संक्रमणबाट बच्नका लागि सचेतना नै महत्वपूर्ण हुने जनाउँदै लामखुट्टेको टोकाइबाट बच्नुपर्ने बताए । ‘कास्कीमा संक्रमण बढ्दै गएको छ । सचेतनाका कार्यक्रम गरिए पनि संक्रमण कम हुन सकेको छैन’, उनले भने, ‘डेङ्गुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उपयुक्त उपाय हो । यसका लागि पानी जम्मा हुने खाल्डाखुल्डी पुर्ने, एसी, कुलरबाट जम्मा हुने पानी दैनिक परिवर्तन गर्नेलगायत कुरा सबैलाई जानकारी गराउनु पर्दछ ।’

आचार्यका अनुसार पोखरामा वडा कार्यालय, विभिन्न सङ्घ संस्थाले डेङ्गु सचेतनाका कार्यक्रम गर्दै आएका छन् । ‘संक्रमण बढेपछि लामखुट्टेको ‘सर्च एण्ड डिस्ट्रोय’ कार्यक्रम सञ्चालन गरिएको छ’, उनले भने । वर्षातको समयमा पानी जम्ने भएकाले डेङ्गुको संक्रमण बढी फैलिने गरेको चिकित्सक बताउँछन् ।

गण्डकी प्रदेशमा हालसम्म छ हजार सात सय ७८ जनामा संक्रमण देखिएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशका ११ जिल्लामध्ये हालसम्म तनहुँ र कास्कीमा डेङ्गु संक्रमणदर उच्च छ । मुस्ताङ बाहेकका अन्य सबै जिल्लामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७