नेपालगञ्जमा १५३ वर्षदेखि प्रदर्शन गरिंदै आएको रामलीला सुरु हुँदै


२८ आश्विन २०८०, आईतवार
Ram Lila

बाँके । नेपालगञ्जमा डेढ सय वर्षदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला यस वर्ष आजदेखि सुरु हुँदैछ । रामलीला मञ्चन गर्न भारतको वृन्दावनबाट राम, सीता, लक्ष्मण, हनुमान र रावणलगायतका कलाकार टोली शनिबार यहाँ आइपुगेको छ ।

भारत वृन्दावन धामका श्री जगदीशप्रसाद शर्मा नेतृत्वको २२ सदस्यीय सङ्गीतमय कलाकार टोली नेपालगञ्ज आइसकेको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिए । उनका अनुसार कलाकारको स्वागत तथा रामलीला महोत्सवको प्रचारका लागि आज दिउँसो २ बजेदेखि रामलीला मैदानबाट शोभायात्रा सञ्चालन गरिने छ भने राति आठ बजे रामलीलाको एक सय ५६औैं संस्करण विधिवतरूपमा उद्घाटन गरिने छ ।

‘यो वर्ष पनि विगतका वर्षमा जस्तै धुमधामले रामीलला महामहोत्सव सञ्चालन गर्ने तयारी पूरा गरेका छौँ’, अध्यक्ष कनोडियाले भने, ‘आजबाट सुरु हुने रामलीलाले नैतिक शिक्षा दिन्छ । जुन अहिलेको परिवेशमा निकै आवश्यक छ ।’ रामलीलामा धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक आदि मञ्चन हुने गर्दछ । नेपालगञ्जको ऐतिहासिक र धार्मिक परम्पराका रूपमा स्थापित रामलीलालाई जोगाइराख्न सहयोग सङ्कलन गरेर पनि महोत्सव गर्दै आएको प्रचारमन्त्री आदित्य गुप्ताले जानकारी दिए ।

१५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला महोत्सवको १५३ र एक सय ५४औं वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण स्थगन गरिएको थियो । सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ बजेदेखि १२ बजेसम्म रामलीला मञ्चन गरिन्छ ।

ठूलो संख्यामा नेपालगञ्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा मध्यरातसम्म सहभागी हुने गर्दछन् । धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ । यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगन्जलाई चिनाएको उनको भनाइ छ । सञ्चालक समितिका अध्यक्ष कानोडियाका अनुसार रामगोपाल टण्डन, भाइलाल हल्वाईलगायतले नेपालगन्जमा रामलीला महोत्सवको सुरुआत गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७