एनआरएनएलाई नागरिकता राष्ट्रघाती कार्यको शुरुवात : प्रभु साह


३० आश्विन २०८०, मंगलवार
Prabhu Shah 1
फाइल फोटो

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गैरआवासीय नेपालीलाई नागरिकता वितरण गर्नु राष्ट्रघाती कार्यको शुरूवात भएको बताएका छन् ।

सरकारले आज (मंगलबार) बाट गैरआवासीय नेपालीलाई नागरिकता प्रदान कार्यको थालनी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालुवाटारमा एक कार्यक्रम आयोजना गरी गैरआवासीय नागरिकता प्रदान गरेका हुन् । तर, आम जनता पार्टीका अध्यक्ष साहले सरकारको उक्त कदमको विरोध गर्दै बिदेशीलाई नागरिकता दिनु देशको पक्षमा नरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्, ‘गैरआवासीय नागरिकता वितरण राष्ट्रघाती कार्यको शुरूवात हो । विदेशी नागरिकलाई नेपाली नागरिकता दिने कार्य खुलेआम राष्ट्रघाती कार्य हो ।’

उनका अनुसार गैरआवासीय नागरिकता वितरणले बिदेशी नागरिकता लिएका नेपालीहरुको नेपालमा रोकिएको अचल सम्पत्ति बेचबिखन गरी विदेश लैजानको लागि बाटो खुल्नेछ । ‘खर्बौं खर्बको चल सम्पति अवैध ढंगले विदेश पु¥याइसकेका तिनीहरुले अब आफ्नो अचल सम्पत्ति पनि खुलेआम विदेश लान पाउने छन्’ साहले लेखेका छन्, ‘नेपालमा लुटेर राखेका सम्पति समेत विदेश लैजानलाई अब कानुनी समस्या हुने छैन ।’

गैरआवासीय नागरिकता वितरणले नेपाललाई खोक्रो बनाउने उनको भनाइ छ । उनी लेख्छन्, ‘दुनियाँमा काही नभएको दोहोरो नागरिकताको प्रावधानले नेपाल छिटै खोक्रो हुने पक्का छ ।’ साहले लेखेका छन्, ‘विदेशी लगानी नेपाल ल्याउनलाई यो दोहोरो नागरिकताको प्रावधान ल्याइएको भन्ने हल्ला मचाएर आज ठूलो राष्ट्रघाती कार्य हुँदैछ । यस अपराधजन्य कार्यको विरुद्ध एक भएर प्रतिवाद गरौँ । राष्ट्रघाती कार्य मुर्दावाद, प्रतिक्रान्तिकारीहरु होशियार ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७