पूर्व राजालाई माधव नेपालको चुनौति : पार्टी खोलेर चुनाव लड्नुस्


१ कार्तिक २०८०, बुधबार
Madhav nepal surkhet
फाइल फोटो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी बनाएर चुनावमा लड्न चुनौती दिएका छन् ।

आज (बुधबार) भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन चुनौती दिएका हुन् । उनले प्रतिगमनको दिशामा देशलाई लैजान खोज्नै कुनै कार्य स्वीकार्य नहुने बताए । उनले कुनै वंशको शासन नेपालमा नेपाली जनतालाई स्वीकार्य नरहेको भन्दै भक्तपुर र झापाका जनताले यसबारेमा सोच्नुपर्ने बताए ।

उनले भने, ‘विगतमा उनीहरूले कसरी यो मुलुक चलाएका थिए, तिनीहरूका पनि हामीलाई एकएक कुराहरु सबै थाहा छ । त्यसो हुनाले संविधानलाई मास्न खोज्ने, प्रतिगमनको दिशामा लैजान खोज्ने, पुरानै अवस्थामा यो देशलाई फर्काउन खोज्ने त्यस्ता तत्त्वप्रति सबै होसियार हुनुपर्छ । कुनै वंशको शासन नेपालमा नेपाली जनतालाई स्वीकार्य छैन । भक्तपुरमा यो आवाज अझै गुन्जाउनु पर्छ, किनभने भक्तपुरबाट नै संकेत दिन खोजियो । झापाले त्यो आवाज उठाउनुपर्छ, झापाले नि संकेत दिन खोज्यो । अस्ती भएको निर्वाचन आफैमा जनमत संग्रह हो ।’

उनले भने, ‘जनताले सिधै पार्टीलाई विश्वास गरेका छौँ भन्ने देखाए । अरूलाई पनि लाग्छ भने पार्टी बनाउन् आउन्, चुनावमा सामेल होउन् । असल काम गरेको छु, त्याग तपस्या र बलिदान गरेको छु भन्ने लागेको छ भने आए हुन्छ । दुःख उठाउन कहिले जानेको छैन, सुखमा जन्मियो, हुर्कियो, अनि जनतालाई भ्रममा राख्ने कोसिस सफल हुनेछैन । हामी अहिले देशका समस्या पहिचान गर्ने कुरामा अघि बढेका छौँ । यो गठबन्धन ५ वर्षको लागि हामीले बनाएका छौँ, यसलाई भत्काउने अनेक कोशिस भइरहेका छन् । ती कुनै कोशिस सफल हुनेवाला छैनन् । यो गठबन्धनको सरकार एकताबद्ध भएर नै अघि बढ्नेछ ।’ अध्यक्ष नेपालले जनताले सक्कली र नक्कली कुराको पहिचान गर्न सक्नुपर्ने बताए । उनले गठबन्धन भत्काउने कोशिस कुनै पनि हालतमा सफल नहुने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७