कोशीमा मुख्यमन्त्रीलाई विश्वासको मत दिएर सत्ता पक्षको बेञ्चमा बस्ने कांग्रेसको निर्णय

एमालेले पनि विश्वासको मत दिने, राप्रपा तटस्थ बस्ने


१ कार्तिक २०८०, बुधबार
Kedar karki koshi scaled
फाइल फोटो

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुअघि सत्ता गठबन्धन दलको बैठक बसेको छ । नेपाली कांग्रेस प्रदेश समितिको विराटनगरस्थित कार्यालयमा दलको बैठक जारी छ ।

बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपालगायत बैठक बसिरहेको छ । कांग्रेस सांसद भीम पराजुलीले दिएको जानकारीअनुसार गठबन्धन दलका तर्फबाट कार्कीलाई विश्वासको मत दिने निर्णय भएको छ ।

कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीको उपस्थितिमा भएको बैठकमा कांग्रेसका सांसदहरू सत्ता पक्षको बेञ्चमा बस्ने निर्णय भएको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्की मुख्यमन्त्री नियुक्त भएका हुन । कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ र कांग्रेसका आठ सांसदले समर्थन गरेका थिए ।

एमालेले पनि विश्वासको मत दिने, राप्रपा तटस्थ बस्ने
यता नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले नव नियुक्त मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बिहान विराटनगरमा बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले जानकारी दिए ।

‘दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ’, भण्डारीले भने, ‘प्रदेशसभा बैठकमा कोशी प्रदेश हाम्रो पार्टीका दलका नेतासमेत रहेका पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले पार्टीको धारणा राख्नुहुन्छ ।’ ११ बजे सुरु हुने भनेको प्रदेशसभा बैठक दलहरूका आन्तरिक बैठक र छलफलका कारण ढिलामात्र सुरु हुने बताइएको छ ।

गत शनिवार एमाले सांसदको बहुमत जुटाएर कांग्रेसको शेखर कोइराला समूहका केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । आज बुधवार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।
यता कोशीका मुख्यमन्त्रीलाई जसपाले पनि विश्वासको मत दिने भएको छ ।
जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जसपाले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासका मत दिने निर्णय गरेको बताए । आज बिहान बसेको जसपाको प्रदेश सभा समितिले सो निर्णय गरेको हो । कोशीमा जसपाका १ सांसद छन् । त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने भएको छ । राप्रपा विश्वासको मतबारे तटस्थ बस्ने भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७