अन्तर्राष्ट्रिय चुनौती बन्दै जलवायु परिवर्तन : प्रधानमन्त्री


१ कार्तिक २०८०, बुधबार
jal

– रामबहादुर थापा
गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तन अन्तर्राष्ट्रिय चुनौती बनेको बताएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा बुधबार मुस्ताङको जोमसोममा आयोजित जलवायु संवाद कार्यक्रममा उनले दक्षिण एसियाको हिमालय पर्वत शृङ्खला वरिपरि देखा परिरहेको जलवायु परिर्वतको असर विशिष्ट र गम्भीर खालको रहेको उल्लेख गरे ।

‘जलवायु परिवर्तन हाम्रो राष्ट्रिय समस्या र चुनौती त हुँदै हो, सँगै यो अन्तर्राष्ट्रिय चुनौती पनि हो, विश्वकै समस्या हो’, प्रधानमन्त्री प्रचण्डले भने, ‘जलवायु परिर्वतनको जोखिम न्यूनीकरणमा अन्तर्राष्ट्रियजगत्ले पर्याप्त लगानी र पहल नलिने हो भने विश्वले गम्भीर मानवीय र प्राकृतिक विपद्को सामना गर्नुपर्ने स्थिति आउँछ ।’

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको हालै सम्पन्न महासभालगायत अन्तर्राष्ट्रिय मञ्चहरुमा जलवायु परिवर्तनले नेपालमा पु¥याएको क्षति र सम्भावित जोखिमबारे गम्भीरताका साथ विषय उठाइएको बताए । ‘नेपालले झेलिरहेको जलवायु परिवर्तनको समस्याबारे विश्व समुदायको ध्यानाकर्षण भएको छ’, उनले भने, ‘आउँदो महिना हुने २८औँ विश्व जलवायु सम्मेलनमा पनि म आफै नेपालको प्रतिनिधित्व गरेर जाँदैछु, त्यहाँ पनि गम्भीरताका साथ यो विषय राख्नेछु ।’

प्रधानमन्त्री दाहालले नेपालमा जलवायु परिवर्तनबाट पुगेको असर र जोखिमबारे बुझ्न छिट्टै संयुक्त राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमण हुन लागेको जानकारी पनि दिए । उनले पछिल्लो समय मुस्ताङलगायत हिमाली क्षेत्रमा जलवायु परिवर्तनबाट पुगेको क्षति र जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग भित्र्याउन पहल गर्ने बताए । उनले जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने विदेशी दातृ निकायबाट प्राप्त हुने रु ५० करोड मुस्ताङमा खर्च गरिने जानकारी पनि दिए ।

‘गत साउन २८ गतेको बाढीबाट क्षतिग्रस्त बनेको कागबेनी क्षेत्रको पुनः निर्माणमा पनि विदेशी सहयोग जुटाउन सरकारका तर्फबाट आवश्यक पहल भइरहेको छ’, उनले भने, ‘जलवायु परिवर्तनबाट मुस्ताङको जनजीवन, कृषि, उत्पादन, पर्यटन र समग्र व्यवसायमा पुगेको क्षतिलाई कसरी रोक्न सकिन्छ भन्नेमा नेपाल सरकार गम्भीर ढङ्ग रुपमा लागेको छ ।’

प्रधानमन्त्री दाहालले भौगोलिक विशिष्टता, प्राकृतिक सम्पदा, खनिज, धार्मिक, सांस्कृतिक आदि दृष्टिबाट मुस्ताङ विश्वकै परिचित स्थल रहेको धारणा राखे । आज मुस्ताङ आएका उनले आजै बाढीबाट क्षति पुगेको कागबेनी, मुक्तिनाथ, उपल्लो मुस्ताङको लोमान्थाङलगायत क्षेत्रको हवाई अवलोकन गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७