पूर्व मुख्यमन्त्री राजेन्द्र राईले भने–केदार कार्कीले कुनै बहादुरी गर्नु भएको होइन

‘कार्कीको कदम गलत भए पनि शंकाको सुविधासहित विश्वासको मत दिन्छौं’


१ कार्तिक २०८०, बुधबार
rajendra rai1697617552

मोरङ । सत्तारुढ नेकपा एकीकृत समाजवादीका कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री समेत रहेका राजेन्द्र राईले नव नियुक्त मुख्यमन्त्री केदार कार्कीले कुनै बहादुरी काम नगरेको टिप्पणी गरेका छन् ।

विश्वासको मत लिने मुख्यमन्त्री केदार कार्कीको प्रस्तावमाथि प्रदेशसभामा बुधबार भएको छलफलमा भाग लिँदै राईले कार्कीलाई भन्दा पहिला आफूहरुलाई एमालेबाट मुख्यमन्त्रीको प्रस्ताव आएको बताए । तर आफूहरुले गठबन्धनको भावनाअनुसार त्यसलाई स्वीकार नगरेको बताए ।

‘यसरी मुख्यमन्त्री हुने हो भने शायद केदार कार्की माननीय ज्यूलाई भन्दा पहिला हामीलाई प्रस्ताव आएको थियो होला । दशौं पटक आएको थियो होला’, उनले अघि भने ‘सबभन्दा पहिला त हामीलाई आयो होला यो प्रस्ताव किनभने चार जना भयो भने उहाँहरुको काम चलिहाल्थ्यो ।’

कांग्रेस संसदीय दलका नेता उद्धव थापा र माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोलाई समेत धेरै पटक यस्तो प्रस्ताव आएको उनले सुनाए । राईले एमालेसँग गठबन्धन गरेर कांग्रेसका केदार कार्की मुख्यमन्त्री बन्ने कदम गलत भएको बताए ।
राईले मुख्यमन्त्री कार्कीले दलीय सहमति तोडेको आरोप लगाएका हुन् । कांग्रेसका ८ सांसदलाई विद्रोह गर्न लगाएर एमालेसँग मिलेको भन्दै राईले मुख्यमन्त्री कार्कीको आलोचना गरे । दलीय व्यवस्थाविरुद्ध र गठबन्धनलाई धोका दिएर बनाएको सरकार भएका कारण सिद्धान्ततः कार्कीलाई विश्वासको मत दिन नमिल्ने राईले बताए ।

सरकार गठनमा आधारभूत विमति भए पनि प्रदेशसभालाई विघटन रोकेर मध्यावधि निर्वाचनलाई रोक्ने जनताको चाहना र केन्द्रीय गठबन्धनको निर्णय अनुसार शंकाको सुविधासहित कार्कीलाई विश्वासको मत भने दिने राईले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७