बीआरआई फन्डिङमा १०० अर्ब डलर बढीको चिनियाँ घोषणा

‘उच्च गुणस्तरको बीआरआई सहयोग गर्न तथा हरित विकासलाई प्रवर्द्धन गरिने छ’


१ कार्तिक २०८०, बुधबार
xi bri

काठमाडौं । चीनले आफ्नो बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा एक सय अर्ब अमेरिकी डलरभन्दा बढी नयाँ लगानी गर्ने भएको छ । बीआरआईको १०औं वार्षिकोत्सवका अवसरमा आयोजित शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिङले उक्त घोषणा गरेका हुन् ।

बीआरआई विदेशमा चीनको प्रभाव विस्तार गर्ने राष्ट्रपति सिको केन्द्रीय स्तम्भ हो जसमा बेइजिङले विश्वभर २० खर्ब अमेरिकी डलरभन्दा बढीको सम्झौता गरेको बताएको छ । ग्लोबल साउथमा संसाधन र आर्थिक विकास ल्याउनका लागि समर्थकहरूले यसको सराहना गरेका छन् ।

तर गरिब मुलुकहरूमा यसले ऋणको भारी बोकाउने भन्दै यसको आलोचना पनि हुँदै आएको छ । बीआरआईको प्रमुख ऋणदाता चाइना डेभलपमेन्ट बैंक र एक्स्पोर्ट–इम्पोर्ट बैंकले अतिरिक्त एक सय अर्ब डलर ऋण प्रस्ताव गर्ने राष्ट्रपति सिले बुधबार घोषणा गरे ।

उनले दुवै बैंकले बीआरआई परियोजनाहरूका लागि तीन खर्ब ५० अर्ब युआन (४७ अर्ब ९० करोड अमेरिकी डलर) को वित्तीय अवसर स्थापित गर्ने बताए । उनका अनुसार परियोजनाको आधिकारिक ऋण संस्था सिल्क रोड फन्डमा अर्को ८० अर्ब युआन लगानी गरिने छ ।  सन् २०१३ मा बीआरआई सुरु भएयता बेइजिङले आयोजना गरेको आफ्नो किसिमको यो तेस्रो ठूलो शिखर सम्मेलन हो । सम्मेलनमा एक सय ३० मुलुकका प्रतिनिधि सहभागी भएका थिए । 

‘उच्च गुणस्तरको बीआरआई सहयोग गर्न तथा हरित विकासलाई प्रवर्द्धन गरिने छ’
चीनका राष्ट्रपति सि जिनपिङले चीनको उच्च गुणस्तरको बेल्ट एन्ड रोड कोअपरेसनको संयुक्त प्रयासलाई सहयोग गर्ने एक प्रमुख कदमका रूपमा हरित विकासलाई निरन्तरता दिइइने बताएका छन् । राष्ट्रपति सिले हरित पूर्वाधार, हरित ऊर्जा, हरित यातायात जस्ता क्षेत्रमा सहयोगलाई अझ विशेष बनाउदै बीआरआई इन्टरनेशनल हरित विकास गठबन्धनलाई सहयोग बढाउने बताए ।

उनका अनुसार चीनले बीआरआईहरित नवप्रवर्तन सम्मेलनलाई निरन्तरता दिने र सौर्य उद्योगकालागि संवाद र आदान–प्रदान संयन्त्र तथा कार्वन नियन्त्रणका लागि विशेषज्ञको नेटवर्क स्थापना गरिने जानकारी दिए । यसै सन्दर्भमा राष्ट्रपति सिले बीआरआईका लागि हरित लगानी सिद्धान्त लागु गर्ने तथा २०३० सम्ममा साझेदार देशहरूलाई एक लाख प्रशिक्षण उपलब्ध गराउने घोषण गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७