साउदीलाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा


२ कार्तिक २०८०, बिहीबार
semi 1

काठमाडौँ । अर्जुन कुमालको कीर्तिमानी शतक र दीपेश कडेलको घातक बलिङमा साउदी अरेबियालाई ३०१ रनले हराउँदै नेपाल एसीसी यू–१९ प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ । आज (बिहीबार) भएको खेलमा नेपालले आउदीलाई ३०१ रनको विशाल अन्तरले हराउँदै अन्तिम चारमा पुगेको हो ।

समूह ‘ए’ को नेपाल अपराजित रहँदै समूह विजेताका रुपमा अन्तिम चारमा पुगेको हो । नेपालले ३ खेलबाट ६ अंक बनाउँदै समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनल यात्रा तय गरेको हो । नेपालसँगको हारसँगै साउदी दोस्रो स्थानमा रहेर बाहिरिएको छ । बहराइन तेस्रो र इरान चौथो स्थानमा रहँदै उनीहरुले प्रिमियर कपको यात्रा सकाएका छन् ।

नेपालले दिएको ३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी १९.१ ओभरमा मात्र ४६ रनमा अलआउट भयो । नेपालका दीपेश कँडेल एक्लैले ६ विकेट लिए । घातक बलिङ गरेका उनले ९.१ ओभरमा मात्र १८ रन खर्चे । आकाश चन्दले २ तथा सुवास भण्डारीले एक विकेट लिए । नेपालका बलरसामु साउदीका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन् । नेपालविरुद्ध साउदीका वरुण सराभननले बनाएको ११ रन नै साउदीका लागि सर्वाधिक रह्यो । अब्दुल सिराजले ९ रन थपे । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

साउदी एक समय ९.५ ओभरमा ६–१८ को दयनीय अवस्थामा पुगेको थियो । त्यसअघि मलेसियाको वांगीमा साउदीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ४७ रनको विशाल योगफल तयार पारेको हो । साउदीविरुद्ध ओपनर अर्जुन कुमालले १४२ रनको शतकिइ पारी खेले । १११ बलको सामना गरेका अुर्जनले १७ चौका र २ छक्का हाने । यू १९ टोलीबाट दुई शतक हान्ने अजुर्न दोस्रो खेलाडी हुन् । यसअघि कप्तान देव खनालले दुई शतक हानेका थिए ।

अर्जुनले यसअघि गत फागुनमा भएको आइसिसी यू १९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय ८ रन हानेका थिए । अर्जुन यू १९ मा दोस्रो शतक हान्ने पहिलो ओपनर हुन् । योसँगै अुर्जनले एकै खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान पनि आफ्नो नाममा गरेका छन् । यसअघि चीनमा भएको १९औं एसियाडमा कुशल मल्ले मंगोलियाविरुद्ध १ सय ३७ रन बनाएका थिए । दोस्रो विकेटका लागि अजुर्न र आकाशले १ सय ६२ बलमा १८९ रनको आक्रमक साझेदारी गरे । अर्जुन ३९ औं ओभरको तेस्रो बलमा मोहम्मद अहमद राजाको बलमा मुहम्मद गायोर अहमदको हातबाट क्याच आउट भए । आकाश ९ रन बनाउँदा क्याच आउट भए । ९ बलको सामना गरेका आकाशले ६ चौका र २ छक्का प्रहार गरे ।

त्यसअघि ओपनर दीपक बोहोरा २९ रनमा क्याच आउट भएका थिए । पहिलो विकेटका लागि अर्जुन र दीपकले ११.५ ओभरमा ७१ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । दीपकप्रसाद डुम्रे १४ रन बनाउँदा एलबीडब्लु धरापमा परे। दीपेश कँडेल १४ रनमा क्याच आउट भए । मिलन बोहोरा ९ रनमा एलबीडब्लु धरापमा नै पर्दै पवेलियन फर्के । मात्र २ बलको सामना गरेका कप्तान देव खनाल शुन्य रनमा नै क्याच आउट भए । विशाल विक्रम केसी २४ रनमा नटआउट रहे ।

कुवेतका मुहम्मद राजा र मुहम्मद गायोर हमदलले समान २ विकेट लिए । जुहैर मुहम्मद र शाजिद शहमाले एक–एक विकेट आफ्नो नाममा गरे । प्रिमियर कपको समूह चरणमा ३ सयभन्दा बढी रन कटाउने नेपाल पहिलो टोली हो । प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानसामु ३५३ रनको योगफल तयार पारेको थियो ।

समूह चरणको पहिलो खेलमा इरानलाई २७४ रनले हराएको नेपालले दोस्रो खेलमा इरानलाई ७ विकेटले हराएको थियो । प्रिमियर कपमा चार समूहका शीर्ष स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनलमा पुग्ने २ टोली र तेस्रो स्थानमा रहने टोली गरी तीन टोलीले एसिया कपमा स्थान बनाउने छन् । सेमिफाइनल खेल कार्तिक ५ गते हुनेछ । पहिलो सेमिफाइनलमा समूह ए र डी का शीर्ष स्थानमा रहने टोलीबीच स्पर्धा हुनेछ । दोस्रो सेमिफाइनलमा समूह बी र सी का शीर्ष स्थानमा रहने टोली भिड्ने छन् । फाइनल र तेस्रो स्थानको खेल कार्तिक ७ गते हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७