शीर्ष नेताको दशैं : प्रचण्ड, ओली र माधवलाई जुठो, अरु नेताले कसरी मनाउँदै छन् दशैं ?


५ कार्तिक २०८०, आईतवार
neta dashain

काठमाडौं । देशभर दसैँको माहौल बढिरहेको छ । जागिर, रोजगारी र अध्ययनको शिलशिलमा संघीय राजधानी काठमाडौंलगायत देशका विभिन्न ठूला शहरहरुमा बसोबास गर्दै आएकाहरु धमाधम घर फर्किरहेका छन । कर्मथलोबाट जन्मथलो फर्किनेहरुको लर्कोले अधिकांश यात्रुवाह सवारीसाधन खचाखच देखिन्छन् । सर्वसाधरणसँग देश सञ्चालनको जिम्मेवारी बोकेका नेताहरुलाई समेत दशैंले छोइसकेको छ ।

केहिअघिदेखि नै दशैं शुभकामनाका कार्यक्रममा व्यस्त हुन थालेका नेताहरुको पनि दशैं योजनाहरु बनिरहेका छन् ।
दशैंका बेला आफ्ना कार्यकर्ता र शुभेच्छुकहरुलाई शीर्ष नेताहरुले दशैंको टीका लगाई दिने चलन रहेको छ । यहि कारण पनि शीर्ष नेताहरुको दशैं सबैको चासोको विषय बन्ने गरेको छ । यस वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित कतिपय शीर्ष नेताको विजयादशमीको टीका छैन ।

यो वर्ष शीर्ष नेताहरुले कसरी मनाउँदै छन् दशैं ?
–प्रधानमन्त्री एवम् सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तीन महिनाअघि पत्नी सीता दाहालको निधन भएका कारण यस पटक उनको परिवारमा दशैं छैन । प्रधानमन्त्री प्रचण्डले यसप टक पारिवारिक भेटघाट मात्र गर्ने उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जनाएका छन् । उनले भने, ‘यसअघिका वर्षमा पनि प्रधानमन्त्री प्रचण्डले सामान्य रूपमा पार्टीको कामको शिलशिलामा जहाँ हुनुहुन्थ्यो, त्यतै दशैँ मनाउने गर्नु हुन्थ्यो । टीका पनि लगाउने गर्नु हुन्न थियो । यस पटक त झन शोकमै भएकाले हुने कुरै भएन ।’ प्रचण्डले गत वर्ष आफूले टीका नलगाए पनि परिवारका सदस्यलाई लगाइ दिएका थिए ।

–पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यो वर्षको दसैँ काठमाडौंमै मनाउने भएका छन् । विजयादशमीका दिन देउवाले परिवारमै टीकाटालो गर्ने र त्यसपछि निवासमै बसेर नेता–कार्यकर्तासँग भेटघाट गर्ने तालिका रहेको सचिवालयले जनाएको छ । देउवाका स्वकीय सचिव भानु देउवाल सभापति देउवाले आफ्नो निवासमा दशैँ मनाउने जानकारी दिए । उनले भने, ‘यस पटक गृह जिल्ला डडेलधुरा वा अन्त कतै जाने योजना छैन ।’

Prachanda pm interview 3

– प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसपालि विजयादशमीको टीका नलगाउने भएका छन् । यसै वर्ष ठूलीआमाको निधन भएकाले ओलीको परिवारमा टीका नचल्ने उनको सचिवालयले जनाएको छ । आफूले टीका नलगाउने भएपछि उनले कार्यकर्तालाई पनि टीका लगाउने छैनन् । केही दिनदेखि गृह जिल्ला झापामा रहेका ओली कार्यकर्ता भेटघाटसँगै पार्टी र भ्रातृ संगठनको कार्यक्रममा व्यस्त छन् । उनी भोलि नवमीको दिन काठमाडौं फर्किने छन् ।

KP Oli 5
फाइल फोटो

– सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गृह जिल्ला रौतहट पुगेका छन् । फूलपातीकै दिन रौतहट पुगेका नेपाल महानवमीको दिन काठमाडौं फर्किने उनको सचिवालयले जनाएको छ । सात महिनाअघि नेता नेपालका भाइ सरोजकुमार उपाध्यायको निधन भएका कारण नेपालले यस पटक टीका चलाउँदैनन् । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीले सात महिनाअघि मात्र नेपालको कान्छा भाइको निधन भएकाले उनको टीका लगाउने कार्यक्रम नभएको जानकारी दिए । शुभकामना आदानप्रदान कार्यक्रममा गृह जिल्ला रौतहट रहेका नेपाल महानवमीको दिन काठमाडौं फर्किने सुवेदीले बताए ।

madhav nepal 3
फाइल फोटो

– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन घरमै दशैँ मनाउन घटस्थापनाकै दिन गृह जिल्ला झापा पुगिसकेका छन् । उनले यस वर्षको दशैँ झापाको हल्दिबारी–१ स्थित आफ्नै घरमा बसेर आफ्नो बुवाको हातबाट टीका लगाउने लिङदेनले जानकारी दिए । उनले बुवाको हातबाट टीका लगाएर भोलिपल्ट काठमाडौं फर्किने जानकारी दिए ।

Rajendra Lingden
फाइल फोटो

–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौंमै दशैँ मनाउने भएका छन् । पार्टीका केन्द्रीय सदस्य समेत रहेकी स्वकीय संयोजक प्रतिभा रावलका अनुसार पार्टीका कार्यक्रम फूलपातीदेखि १० गतेसम्म रोकिएका कारण सभापति १० गतेसम्म काठमाडौं उपत्यकामा नै रहने छन् । लामिछानेका दाजु–भाउजु काभ्रेपलाञ्चोकमा छन् । त्यसैले विजयादशमीको दिन टीका लगाउन काभ्रेपलाञ्चोक जाने तालिका रहेको रावलले जानकारी दिइन् ।

Rabi lamichhane 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७