लोकमार्गको धुलो र हिलोले यात्रुलाई सास्ती


९ कार्तिक २०८०, बिहीबार
lok marga
फाइल फोटो

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहको मध्यपहाडी लोकमार्गको काम समयमै सम्पन्न नहुँदा स्थानीय र यात्रुले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डको साढे दुई दशक अगाडि ट्रयाक खुले पनि हालसम्म कालोपत्र नहुँदा धुलो र हिलोले यात्रु तथा स्थानीय आजित भएका छन् ।

लोकमार्ग कार्यालयले उपल्लाचौरदेखि घोडाबाँधेसम्मको २५ किलोमिटर सडक कालोपत्रका लागि दुई निर्माण कम्पनीलाई जिम्मेवारी दिएको दियो । तर निर्माण कम्पनीले समयमै काम गर्न सकेका छैनन् । बागलुङको उपल्लाचौरदेखि १३ किलोमिटर पहिलो खण्ड र घोडाबाँधेसम्मको १२ किलोमिटर दोस्रो खण्ड गरी दुई निर्माण कम्पनीलाई जिम्मा दिइएको थियो ।

दुई वर्षमा सक्नेगरी जिम्मा पाएको ठेकेदार कम्पनीले ठेक्का सम्झौता भएको सात वर्षसम्म कालोपत्र गर्ने काम नसक्दा यात्रु र स्थानीयले ठूलो सास्ती खेप्नुपरेको छ । उपल्लाचौरदेखि १३ किलोमिटर सडकको भारत÷सिद्धिसाई जेबीसँग विसं २०७३ माघमा दुई वर्षमा सक्नेगरी ठेक्का सम्झौता गरिएको थियो । अहिलेसम्म चार पटक म्याद थप गर्दासमेत बल्ल सात किलोमिटर सडक मात्रै कालोपत्र गरेको छ भने अझै छ किमी सडक कालोपत्र गर्न बाँकी छ ।

उक्त खण्डको सात वर्षमा ७३ प्रतिशत भौतिक प्रगति र ६९ प्रतिशत आर्थिक प्रगति भएको थियो । उक्त सडकमा पाँच किलोमिटरमा पूर्वाधार निर्माणको कामस मेत बाँकी छ । बिहुँदेखि घोडाबाँधेसम्मको १२ किमी सडक कालोपत्रका लागि विसं २०७२ माघमा दुई वर्षमा कालोपत्र सक्नेगरी सूर्य कन्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो । बाह्र किमी सडकमध्ये हालसम्म उपल्लो खण्डमा छ किमी सडक कालोपत्र सम्पन्न भए पनि पाँचपटक म्याद थप्दासमेत छ किमी सडक कालोपत्र गर्न अझै बाँकी रहेको छ ।

उक्त सडकको ७५ प्रतिशत भौतिक र ७१ प्रतिशत वित्तीय प्रगति भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । सडक समयमै कालोपत्र नहुँदा वर्षौंदेखि आफूहरुले हिलो र धुलो खान बाध्य भएको स्थानीय केदार कँडेल बताउँछन् । उनले भने, ‘धेरै वर्ष भयो यो बाटो कालोपत्र गर्छौं भन्न थालेको तर अहिले पनि केही परिवर्तन हुनै सकेको छैन, अहिले त सडकमा मान्छे डुबाउने धुलो छ, बर्खामा हिलो पनि उस्तै हुन्छ, हामीहरु त आजित भयौँ, घर नजिकै सडक छ, घर उठाएर पर सार्न पनि नमिल्ने, हामी सानो हुँदा यो सडकको हालत यस्तै थियो, अहिले हामी ४०-४२ वर्षमा लाग्दा पनि यस्तै छ ।’

सवारी चालक मिनबहादुर विकले यो सडकमा गाडी चलान थालेको १७ वर्ष भएको भन्दै सडकको दुरावस्थाका कारण अहिलेसम्म लाखौँ रकम बराबरको पार्टपुर्जा फेर्नु परेको बताए । बागलुङ बजार नजिकै भए पनि सडक अप्ठ्यारो हुँदा बिहुँबाट बजार झर्न झण्डै दुई घण्टा लाग्ने विकको अनुभव छ । वैकल्पिक बाटो छैन, यही सडकमा हिँड्नुपर्छ, म दैनिक दुई पटक ओहोरदोहोर गर्छ, यात्रुले निकै गुनासो गर्छन्, धेरैले वान्ता पनि गर्छन्, यो सडक अप्ठ्यारो छ भन्ने सबै नेतालाई थाहा छ, तर काम गर्दैनन्’, विकले भने, ‘बर्खामा हिलोले गाडी नै डुब्ला जस्तो हुन्छ, हिउँदमा धुलोले गाडी देखिँदैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७