एमालेकै पालामा फागनु १ गते जनयुद्ध दिवश मनाउने निर्णय भएको हो : वर्षमान पुन


१६ कार्तिक २०८०, बिहीबार
Barshaman scaled

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले शान्ति प्रक्रियाको बाँकी कामका लागि अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुनेमा विश्वास व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले संक्रमणकालीन विधेयक संसदको कानुन तथा मानव अधिकार समितिमा छलफलमा रहेको जानकारी दिँदै विधेयक राष्ट्रिय सहमतिबाट पारित हुने बताए । आफूले नेतृत्व गर्दा राम्रो तर अरुले नेतृत्व गर्दा नराम्रो जस्तो गरी दृष्टिकोण आउने गरेको उल्लेख गर्दै तर यस्तो विषय राष्ट्रिय प्राथमिकतामा पर्न जरुरी रहेको बताए । ‘हामी आफूमा विश्वास गर्दैनौँ । भाग्यवादमा विश्वास गर्छौ, तर तथ्यमा, विज्ञान प्रविधिले के भन्छ भन्नेमा ध्यान दिएर कर्ममा विश्वास गर्नुपर्छ’, उनले भने, ‘मिलन र सद्भावको संस्कृतिलाई काम गर्नुपर्छ । अल्पसङ्ख्यकको संस्कृतिलाई पनि मानेर जानुपर्छ । बहुलतालाई स्वीकार गरेर जानुपर्ने जरुरी छ ।’

सदनको कार्यकालको समीक्षा गर्दा संसद्ले केही प्रयत्न गरेको उल्लेख गर्दै उनले यस अवधिमा कानुन निर्माणमा क्रममा मिटरब्याजसम्बन्धी महत्वपूर्ण कानुन बनाएको अवगत गराए । समितिमा विभिन्न २२ वटा विधेयक छलफल भइरहेको बताउँदै उनले संसद्लाई प्रभावकारी बनाउन सबैको भूमिका आवश्यक पर्नेमा जोड दिए । प्रधानमन्त्रीले विभिन्न मित्रराष्ट्रहरुको भ्रमण गर्नुभएको विषय सकारात्मक रहेको उल्लेख गर्दै नेता पुनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको औपचारिक भ्रमणमा आएर जलवायु परिर्वतनको असरबारे विश्वलाई जानकारी गराउनु नेपालको लागि उपलब्ध भएको बताए ।

अर्थतन्त्रलाई बलियो बनाउनका लागि सबैले मिलेर काम गर्नुपर्ने जरुरी रहेको बताउँदै उनले सरकारले स्वतन्त्र परराष्ट्र नीतिअनुरुप काम गर्दै आएको उल्लेख गरे । नेता पुनले संसद् अधिवेशनको यो अवधिमा प्रधानमन्त्रीले महिनाको पहिलो हप्ता जवाफ दिने महत्वपूर्ण काम भएको बताए । सांसद वर्षमान पुनले फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय एमाले सरकारमा भएका बेला नै भएको बताएका छन् । एमाले नेता विष्णु पौडेल उपप्रधानमन्त्री रहेको बेला मन्त्रिपरिषदले फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरेको पुनले बताएका हुन् ।

प्रतिनिधिसभा बैठकमा पौडेलले हिंसा आरम्भ भएको दिनलाई उत्सवको रुपमा मनाउन नसकिँने बताएका थिए । नेता पौडेलको टिप्पणी सांसद पुनले यस्तो जवाफ दिएका हुन् । एमाले नेता एवं सांसद पौडेलले बैठकमा भने, ‘हिंसा सुरु भएको दिनलाई जनयुद्ध दिवस मानेर विदा दिने निर्णय सरकारबाट भएको छ, कांग्रेस त्यसैमा सहभागी छ । यदि यो सरकारसँग आँट छ भने जनयुद्ध दिवस मनाउने प्रस्ताव संसदमा लिएर आओस् त्यसको निर्णय जनप्रतिनिधिले गर्छन्, हामीले गर्छौ ।’

पौडेलपछि बोलेका माओवादीका उपमहासचिव समेत रहेका नेता पुनले नेताहरूले संस्कार र संस्कृति सुधार गर्नुपर्ने बताउँदै जनयुद्ध दिवस मनाउने निर्णय विष्णु पौडेल उपप्रधानमन्त्री रहेको मन्त्रिपरिषदले गरेको स्मरण गराएका हुन् । उनले भने, ‘माघ १९ गते त्यो निर्णय भएको रहेछ । पूर्ववक्ता माननीय ज्यू त्यतिबेला उपप्रधानमन्त्री हुनुहुँदो रहेछ । त्यही क्याबिनेटले गरेको रहेछ । हामी आफैं गर्ने अर्को ठाउँमा जाँदा त्यही फेरि अर्कै हुने कसरी हुन्छ ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७