तारा एयरका पाइलटबीच रामेछाप विमानस्थलमै कुटाकुट


१७ कार्तिक २०८०, शुक्रबार
tara.jpj

रामेछाप । रामेछापको मन्थली विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको छ । आज (शुक्रबार) बिहान तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष शाह र अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच विमानस्थलमै हानाहान परेको हो ।

क्याप्टेन सन्तोष शाह आज बिहान ८ बजे सोलुको लुक्लाबाट जहाज लिएर मन्थली विमानस्थलमा अवतरण गरेका थिए । अर्का क्याप्टेन सञ्जीव श्रेष्ठ लुक्ला उडानका लागि विमानस्थलमा रहेको जहाजतर्फ जाँदै थिए । लुक्लावाट मन्थली आएका क्याप्टेन शाह जहाजबाट ओर्लिएर बाहिर निस्केर हिँड्दै गर्दा जहाज भएको ठाउँतर्फ अर्का क्याप्टेन श्रेष्ठ जाँदै थिए । दुई जनाको भेटमा क्याप्टेन शाहले अर्का क्याप्टेन श्रेष्ठसँग हात मिलाउन खोज्दा श्रेष्ठले शाहलाई एक चड्कन गालामा हानेर धकेलिदिएपछि क्याप्टेन शाह भुइँमा बजारिन पुग्दा सामान्य घाइते समेत भए ।

घटनापछि क्याप्टेन श्रेष्ठले जहाज लिएर लुक्लातर्फ उडेका छन् भने शाह कानुनी उपचारका लागि शाहविरुद्ध निवेदन लिएर जिल्ला प्रहरी कार्यालय पुगेका छन् । क्याप्टेन शाहले आफूलाई विना कारण क्याप्टेन श्रेष्ठले हात हालेको भन्दै आवश्यक कारवाहीको लागि निवेदनसहित कार्यालयमा आएका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमवहादुर पराजुलीले जानकारी दिएका छन् । घटनावारे थप अनुसन्धान र सोधपुछ गरिरहेको पराजुलीले बताएका छन् ।

दुई पाइलटबीच के विषयमा कुटाकुट भयो आफूलाई जानकारी नभएको नागरिक उड्डयन प्राधिकरण रामेछापका प्रमुख अशोक थापाले बताएका छन् । उनले भने, ‘घटनापछि क्याप्टेन शाह भएको विमान मन्थली बिमानस्थलमा ग्राउण्डेट गरिएको छ भने लुक्ला पुगेका श्रेष्ठलाई पनि लुक्ला यएरर्पोटमै ग्राउण्डेट गरिएको छ ।’

जहाजका दुई क्याप्टेनबीच भएको कुटाकुटको विषयमा कम्पनीबाट इन्क्वायरी भइरहेको र दुवै जनाको पाइलट इजाजत पत्र खारेज गर्ने तयारी भइरहेको पनि तारा यएरलाइन्सका प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिए । दुई जनाबीच जहाज उडानसम्वन्धी नभई व्यक्तिगत रिसिइवीको कारणले घटना भएको देखिन्छ । यसबारेमा थप जानकारी लिने काम भइरहेको छ’ बर्तौलाले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७