कारबाहीमा परेका सशस्त्रका एसपी बढुवा सिफारिस


२१ कार्तिक २०८०, मंगलवार
apf office

काठमाडौं । सशस्त्र प्रहरी बलका विवादित एसपी नानीराम हुमागाईं बढुवा सिफारिसमा परेका छन् । इन्जिनिरिङतर्फको एसएसपीका लागि ई. नानीराम हुमागाईंलाई सिफारिस गरिएको हो । बढुवा सिफारिसमा चित्त नबुझे २१ गतेभित्र उजुरी दिन सकिने समेत सशस्त्रले जनाएको छ ।

दुई वर्षअघि महिनौंसम्म कर्मचारीलाई ‘आउट’ छाडेको भन्दै सशस्त्र प्रहरी बल हातहतियार तथा यान्त्रिक कार्यशाला (आर्मोरर), बलम्बुका एसपी हुमागाईं छानबिनमा परेका थिए । कार्यशालामा रहेका जनशक्तिलाई बिदामा छाडेको र उनीहरुले खाइपाई आएको राशनभत्तामा आँखा लगाएको मात्र होइन, असुल गरेको आरोप लागेपछि उनीमाथि छानबिन गरिएको थियो । त्यतिबेला हालका डिआइजी दीपेन्द्र शाहले उनीमाथि छानबिन गरी कारबाहीको सिफारिस गरेका थिए ।

उनलाई सिपाहीलाई मनलाग्दी बिदा बस्न लगाएर तोकिएको जिम्मेवारी पूरा नगरी तलबभत्ता मात्र खुवाएको आरोप लागेको थियो । उनीमातहत ८० जना कार्यरता थिए । यसमध्ये एक चौथाईभन्दा कम कर्मचारीलाई मात्र कार्यालयमा राखी अरू सबैलाई मनलाग्दी बिदा छाडेको उजुरी परेको थियो ।

सो उजुरीको विषयमा छानबिन गर्न सशस्त्र प्रहरीका एसएसपी दीपेन्द्र शाहको कमाण्डमा समिति बनाइएको थियो । ८० जना कर्मचारीमध्ये २५ जनालाई नियमित काममा लगाई ५५ जनालाई बिदा छाडेर उनीहरूको रासनवापतको नगद हात पार्दा मासिक अतिरिक्त २ लाख भन्दा बढी रकम लिने गरेको उजुरीमा उनी दोषी देखिएको सशस्त्र प्रहरी स्रोतले जनाएको थियो ।
सशस्त्र प्रहरीमा जनशक्ति अभाव भइरहेको भन्दै तत्कालीन महानीरिक्षक शैलेन्द्र खनालले गृह मन्त्रालय र अर्थ मन्त्रालयमा प्रस्ताव गरिरहँदा सशस्त्रकै केही कमाण्डरहरुले तोकेको स्थानमा डिउटी नखटाउने र भएकैलाई घर बिदा छाड्ने गरेका गुनासा आएपछि मुख्यालयले त्यस्ता स्थानमा छड्के जाँच गर्न थालेको थियो ।

अहिले सो यान्त्रिक कार्यशालामा शान्ति स्थापनार्थ द्वन्द्वग्रस्त मुलुकमा खटिँदा सशस्त्र प्रहरीले प्रयोग गर्ने ५४ वटा महँगा सवारी साधन पनि छन् । ती साधन दैनिक २ लिटर इन्धन राखी स्टार्ट गर्नुपर्छ । अरू ६ वटा ठूला सवारीसाधनलाई दिनहुँ ३ लिटर इन्धन राखी स्टार्ट गरेर तन्दुरुस्त राख्नुपर्ने हुन्छ । यस्तोमा पनि घोटाला हुने गरेको थियो । गाडी स्टार्ट गर्न नै दैनिक प्राप्त हुने १२६ लिटर इन्धन सदुपयोग भन्दा बढी दुरुपयोग हुने गरेको थियो । तीन दिनमा एक पटक गाडी स्टार्ट गर्दा मासिक २० दिनको इन्धन बचत हुन्छ । दैनिक १२६ लिटरका दरले २० दिनको २५२० लिटर इन्धन सित्तैमा लिने गरेका छन् ।

मुख्यालयले गाडीको मर्मत सम्भार शीर्षकमा वार्षिक ४२ लाख रुपैयाँ पठाउने गरेको थियो । तर, ०७४ सालदेखि खासै मर्मत गरिएको छैन । उनीमाथि छानबिन गरेका शाहले दोषी ठहर गरी विभागीय कारबाहीको सिफारिस गरेका थिए । उनै एसपी हुँमागाईलाई बढुवा सिफारिस गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७