विपी स्मृति भवनलाई जुट्यो तीन करोड


२१ कार्तिक २०८०, मंगलवार
Bp park baglung

बागलुङ । बागलुङमा गत वर्षदेखि निर्माण थालिएको विपी स्मृति भवन निर्माणका लागि धमाधम सहयोग जुटिरहेको छ । विपी स्मृति भवन निर्माणका लागि हालसम्म झण्डै रु तीन करोड सहयोग रकम सङ्कलन भएको छ ।

विपी स्मृति भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष जगन्नाथ आचार्यका अनुसार हाल भवन निर्माणको २५ प्रतिशत भौतिक प्रगति भएको छ । सहयोग सङ्कलन गरिएको रु तीन करोडमध्ये रु ७५ लाख सरकारी निकायबाट हो भने अन्य रकम व्यक्तिगत सहयोगबाट जुटेको छ । गत वर्षदेखि थालिएको भवन निर्माण अभियानमा सहयोग जुट्ने क्रमले तीव्रता पाएको छ ।

अहिले बागलुङ नगरपालिका–३ नारायणचोकमा स्मृति भवन निर्माण भइरहेको छ । हालसम्म भवन निर्माणमा झण्डै रु एक करोड खर्च भइसकेको अध्यक्ष आचार्यले बताए । उक्त भवन निर्माणका लागि पूर्वाधार विकास कार्यालयबाट रु ५० लाख, बागलुङ नगरपालिकाबाट रु २० लाख र जैमिनी नगरपालिकाबाट रु पाँच लाख बजेट विनियोजन भई फछ्र्योट भइसकेको छ । यस्तै जिल्लाका विभिन्न व्यक्ति, शुभेच्छुक तथा जनप्रतिनिधिबाट रु एक करोड ५९ लाख र जापानबाट रु ५० लाख सङ्कलन भएको छ ।

‘सहयोग जुटाएरै आधुनिक भवन निर्माण थालिएको छ’, अध्यक्ष आचार्यले भने, ‘अबको तीन वर्षमा भवनले सार्थकता पाउला भन्ने आशा छ, सहयोग उठ्ने क्रम जारी छ ।’ नेपाली कांग्रेस बागलुङका सभापति जित शेरचनले सहयोग सङ्कलन अभियानलाई स्वदेशमा मात्रै नभएर विदेशमा समेत चलाइएको बताए । शेरचन हालै मात्र जापान भ्रमणमा पुगेर भवन निर्माणका लागि रु ६० लाख सहयोग सङ्कलन गरेर फर्किएका छन् । रु १० करोड सहयोग जुटाउने नेपाली कांग्रेसको अभियान छ । बागलुङ नगरपालिका–३ नारायण चोकमा १४ आना जग्गा खरिद गरेर भवन निर्माण थालिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७