जाजरकोट भूकम्प : १२ जिल्लाका ३५ हजार घरमा क्षति (सूचीसहित)


२१ कार्तिक २०८०, मंगलवार
Bhukampa 10 scaled

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पबाट देशका विभिन्न स्थानमा गरी ३५ हजार बढी घरमा क्षति पुगेको छ । सरकारले गरेको अध्यावधिक विवरणअनुसार भूकम्पले १७ हजार ७९२ वटा घर पूर्ण रूपमा र १७ हजार ५२९ घरमा आंशिक क्षति पुर्‍याएको छ । जसमा सबैभन्दा बढी रुकुम पश्चिममा १६ हजार ५७० घर पूर्ण रूपमा क्षति भएका छन् भने ९९६१ घरमा आंशिक क्षति पुगेको छ ।

यस्तै भूकम्पबाट सल्यानमा २५ वटा घर पूर्ण रूपमा क्षति भएका छन् भने ९७ घरमा आंशिक क्षति पुगेको छ । यस्तै रोल्पामा १७ घर पूर्ण रूपमा भत्किएका छन् भने ८३ घरमा आंशिक क्षति पुगेको छ । भूकम्पले जुम्लामा पनि ५ घर पूर्ण रूपमा क्षति भएका छन् रुकुम पूर्वमा २ घर तथा दैलख, बैतडी र कालीकोटमा १-१ घर पूरै ध्वस्त भएका छन् । भूकम्पले रुकुम पूर्वमा १८२ घरमा आंशिक क्षति पुगेको तथ्यांकमा उल्लेख गरिएको छ । यस्तै प्युठानमा ३१, दाङमा ७ तथा दैलेख र नवलपरासी पूर्वमा १-१ घरमा भूकम्पले आंशिक क्षति पुगेको छ ।

जाजरकोट केन्द्रबिन्दु भएर यही कात्तिक १७ गते गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट भएका क्षतिको विवरण संकलन जारी रहेको सरकारले जनाएको छ । गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार भूकम्पबाट भएका क्षतिबारे प्रभावित जिल्लाहरूबाट विस्तृत विवरण आउने क्रम जारी छ ।

जसअनुसार भूकम्पमा परी अहिलेसम्म १५३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने घाइतेको संख्या ३६३ पुगेको छ । भूकम्पका कारण सबैभन्दा बढी जाजरकोटमा १०१ जनाको मृत्यु भएको छ । यसपछि रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको मंगलबार बिहान सार्वजनिक तथ्यांकमा उल्लेख गरिएको छ । घाइते ३६३ मध्ये सबैभन्दा बढी रुकुम पश्चिममा २ सय जना छन् भने जाजरकोटमा १४५ जना घाइते भएका छन् । यस्तै भूकम्पमा परी जुम्लामा ६, दैलेख, बैतडी र प्युठानमा ३-३ जना, सल्यानमा २ जना तथा कालिकोट र रोल्पाका १-१ जना घाइते भएका छन् ।
भूकम्पको क्षति विवरण

ho

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७